News

Oct 11, 2008

आठ सदस्यीय नेपाली प्रतिनिधिमण्डल जेनेभा प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका सभाध्यक्ष सुवास नेम्बाङको नेतृत्वमा अन्तर-व्यवस्थापिका संघको ११९ औं सभामा भाग लिन शनिबार आठ सदस्यीय नेपाली प्रतिनिधिमण्डल जेनेभा प्रस्थान गरेको छ । सभामा मौसम परिवर्तन, प्राकृतिक प्रकोप, गरिबी निवारण, आतंकवादलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।सभामुख नेम्बाङले विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै सभासदहरूको विवेकको मत प्रयोगसम्बन्धी विवादका कारण संविधानसभा नियमावली दसैंअघि आउन नसकेको जानकारी दिँदै अब छिट्टै नियमावली पारित गरी संविधान निर्माणसम्बन्धी स्पष्ट कार्यतालिका निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।हाम्रा केही कमीकमजोरी र नयाँ अनुभवले गर्दा संविधान निर्माण कार्यमा केही बिलम्व भएको उल्लेख गर्दै उहाँले घोषित मितिमा नै जनादेशबमोजिमको संविधान निर्माण गर्न समावेशी चरित्रको वर्तमान संविधानसभा सफल हुने विषयमा शंका नगर्न सबैसँग आग्रह पनि गर्नुभयो । आगामी २७ गतेदेखि २९ गतेसम्म हुने तीनदिने सभामा विश्वका करिब १३५ देशका प्रतिनिधिको सहभागिता हुने बताइएको छ ।नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभासद् सत्य पहाडी, उमाकान्त चौधरी, शारदादेवी कुमाल, सर्वदेवप्रसाद ओझा, बृजेशकुमार गुप्ता एवं व्यवस्थापिका-संसद सचिवालयका कार्यबाहक महासचिव मनोहरप्रसाद भट्टराइ र सहसचिव धनबहादुर श्रेष्ठ रहनुभएको छ ।

No comments: