News

Oct 11, 2008

माओवादी र नेपाली सेनाको एकता बिगार्ने षड्यन्त्र - बादल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्षामन्त्री रामबहादुर थापा 'बादल'ले प्रतिगमनकारीहरू नेकपा माओवादी र नेपाली सेनाको एकता बिगार्ने षड्यन्त्रमा लागेको दाबी गर्नुभएको छ । माउन्टेन फ्लाइटबाट आज शनिबार पोखरा पुग्नुभएका मन्त्री थापाले पोखरा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सेना समायोजन शान्तिप्रक्रियाको अनिवार्य सर्त भएकाले त्यस बिषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सेना समायोजनलाई सफल पार्न नसके शान्तिप्रक्रियामा खतरामा पर्ने उल्लेख गर्दै उहाँले माओवादी लडाकु सेनालाई व्यक्तिगत वा सामूहिक कुन रूपमा समायोजन गर्ने भन्नेबारे छलफल भइरहेको जानकारी दिनुभयो । छिट्टै बन्ने विशेष समितिले सेना समायोजनको टुंगो लगाउने उहाँको भनाइ थियो । नेपाली कांग्रेसले शान्ति सम्झौता विपरीत सेना समायोजन गर्न हुँदैन भनेर बखेडा झिकिरहेको उहाँले आरोप लगाउनुभयो । रक्षामन्त्री थापाले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई पनि सरकारमा ल्याउने विषयमा छलफल भइरहेको बताउनुभयो । त्यस अवसरमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमीले लुक्लामा भएको विमान दुर्घटनाले पर्यटनमा असर पर्न सक्ने भएकाले नेपालको माउन्टेन फ्लाइटहरू सुरक्षित छन् भन्ने सन्देश दिन आफूहरू यात्रामा आएको जानकारी दिनुभयो । पोखरामा क्षेत्रीय विमानस्थल निर्माणका लागि अहिले छुट्टयाइएको रकम कम भयो भन्ने कुरा बाहिर आइरहेको बेला मन्त्री यमीले हाल विनियोजन गरिएको रकम खर्च भयो भने थप रकम छुट्टयाउन सरकारलाई सजिलो हुने बताउनुभयो ।

No comments: