News

Oct 3, 2008

भूपरिवेष्ठित राष्ट्रहरूलाई बिशेष सहयोग गर्न राष्ट्रसंघसँग आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परराष्ट्रमन्त्री उपेन्द्र यादवले द्वन्द्व समाधानको चरणमा रहेका भूपरिवेष्ठित राष्ट्रहरूलाई बिशेष सहयोग गर्न संयुक्त राष्ट्रसंघसँग आग्रह गर्नुभएको छ । मन्त्री यादवले नेपाललगायत भूपरिवेष्ठित राष्ट्रहरूलाई समुद्रसम्मको पहुँचको अधिकार तथा यातायातका सबै प्रकारका साधन चलाउन पाउने स्वतन्त्रताको सुरक्षाका लागि राष्ट्रसघले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।न्युयोर्कमा बिहीबार राति आयोजित राष्ट्रसंघसँग आवद्ध अल्पविकसित राष्ट्रहरुको परराष्ट्रमन्त्रीस्तरीय बैठकलाई सम्वोधन गर्दै मन्त्री यादवले नेपालको राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै सहयोग गर्न अन्तर्राष्ट्रिय दातृ निकायसँग आग्रह पनि गर्नुभयो । उहाँले भूपरिवेष्ठित राष्ट्रहरूका लागि राष्ट्रसंघीय महासभाद्वारा बनाइएको कार्ययोजना अन्तर्गतका सबै कामको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिनुभयो । बैठकलाई राष्ट्रसंघका महासचिव बान कि-मुन र महासभाका अध्यक्ष मिगुयल डिइस्कोटोले पनि सम्बोधन गर्नुभएको थियो । मन्त्री यादव भारतीय समकक्षी प्रणव मुखर्जीद्वारा आयोजित भोजमा पनि सहभागी हुनुभएको थियो ।

No comments: