News

Oct 10, 2008

अपहरणकारीका परिवारले नै फिरौती तिरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वसाधारणलाई अपहरण गरी फिरौती उठाउने धन्दामा संलग्न रहँदै आएका सन्दीप पाठकको परिवार नै फिरौती उठाउने समूहको पञ्जामा परेको छ । एकताका 'स्पाइडर समूह' नामक संगठन बनाएर चिकित्सक र वैदेशिक रोजगार व्यवसायीसँग फिरौती उठाएर सन्दीपले आतंक नै मच्चाएका थिए । सन्दीप अवैध हतियार बोकेको अभियोगमा एक वर्षदेखि भारतको जेलमा छन् । उनै सन्दीपका भिनाजु बाबुराम तामाङलाई ६ असोजमा कोठाबाटै अपहरण गरी अपहरणकारीले चार लाख फिरौती लिएका छन् । अपहरणकारीलाई फिरौती बुझाउन गएकी थिइन् सन्दीपकी श्रीमती । अपहरणकारीले सन्दीपकी श्रीमतीलाई फोन गरेर 'सन्दीपकी श्रीमती हुँ भनेर धाक नलगा, तेरो मान्छेलाई ठीक पारिदिउँला' भनेर धम्क्याएका थिए । अपहरण भएको १३ दिनपछि जब प्रहरीले अपहरणकारीलाई पक्राउ गर्‍यो तब रहस्य खुल्यो बाबुरामको अपहरण सन्दीपको भिनाजु भएकैले भएको रहेछ । अपहरणकारीले ६ असोज बिहान सुविधानगरस्थित घरबाटै चार/पाँचजनाले 'हामी वाइसिएल हौं तपाईसँग काम छ' भन्दै बाबुरामलाई लिएर गएका थिए । तर, उनीहरू वाइसिएल नभई अपहरणकारी थिए । उनीहरूले बाबुरामलाई घरबाट बाहिर निकालेलगत्तै कालो टेप टाँसिएको कालो चस्मा लगाइदिएर टोखा पुर्‍याएका थिए । उनीहरूले बाबुरामलाई टोखाबाट कपुरधारा चोकमा रहेको घरमा लगेर राखेका थिए । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजकुमार सिलवालका अनुसार अपहरणकारीले बाबुरामको मोबाइल नम्बर ९८५१०६९२७६ प्रयोग गरी उनको परिवारसँग ९० लाख फिरौती रकम माग गरेका थिए । अपहरणकारीसँग रकमको डिल सन्दीपकी श्रीमतीले गरेकी थिइन् । उता अपहरणकारीका तर्फबाट मिलन गुरुङ भन्ने व्यक्तिले रकमको डिल गरिरहेका थिए । पीडित परिवारले आफूहरूसँग त्यत्रो रकम छैन भन्दा 'सन्दीपकी श्रीमती भएर पनि यस्तो कुरा गर्ने' भन्दै धम्क्याउने गर्थे । यसबीचमा अपहरणको बारेमा प्रहरीलाई जानकारी आइसकेको थियो । प्रहरीले अपहरणकारीलाई पक्राउ गर्ने तयारी गर्दागर्दै अपहरणकारी र पीडित परिवारबीच चार लाखका कुरा मिल्यो र पीडित परिवारले थापाथलीमा लगेर रकम बुझाए, बाबुराम रिहा भए । तर, बुझाएको रकम तीन लाख ५० हजार मात्र रहेछ । अपहरणकारीले थप ५० हजारको माग गरेपछि पीडित परिवार प्रहरीमा आए । प्रहरीले ५० हजार बुझाउन जाने क्रममा अपहरणकारीलाई पक्राउको जाल बुनेको थियो । सोही जालअनुसार १६ असोजमा अपहरणमा संलग्न चारजना पक्राउ गर्न प्रहरी सफल भयो । पक्राउ परेका अपहरणकारीमा धादिङका २४ वषर्ीय हाप्पा भनिने सूर्यबहादुर गुरुङ, कास्की रामबजारका २३ वर्षका अमित पौडेल, धादिङ दार्खाका ३० वषर्ीय कमल गुरुङ र गोर्खा आँपपीपलका २३ वषीय अनिल थापामगर छन् । अपहरणमा संलग्न पाँचजनाको पहिचान भए पनि प्रहरीले उनीहरूलाई पक्राउ भने गर्न सकेन ।

No comments: