News

Oct 6, 2008

आज फूलपाती, दसैंको चहलपहल बढ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बडा दसैंअन्तर्गत सप्तमी तिथि आज सोमबार मुलुकभर परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ । दुर्गाभवानीको प्रतिमा राखिएको राजधानीको हनुमानढोकास्थित दसैंघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ ।उक्त फूलपाती धादिङको जीवनपुरबाट दसैंघरमा पुजारीसहित मगरजातिका छजनाले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका बाहुन जातिका छजनाले ल्याउने परम्परा छ । हर्षबढाइँसाथ फूलपाती भित्र्याउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र उच्चपदस्थ कर्मचारी, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिंगारिएका कल्स्यौंडी र साँस्कृतिक नाचगानसहितको लावालस्कर जमलबाट हनुमानढोका प्रस्थान गर्छ ।घटस्थापनाका दिनदेखि दसैं सुरु हुने भए पनि दसैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि नै सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्ति सपरिवार बसेर दुर्गाभवानीको टीका थाप्न आआफ्ना घर फर्कने क्रम जारी छ ।

No comments: