News

Oct 9, 2008

राष्ट्रपति लगायत दलका नेताहरुले शुभकामना सन्देश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालीहरुको महान चाड दसैंका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् । राष्ट्रपति डा. रावरण यादवले बडादसैंका अवसरमा नेपालभित्र र बाहिर बस्ने सबै नेपालीको सुख, शान्ति र उन्नतिको कामना गर्नुभएको छ ।राष्ट्रपतिले सन्देशमा बाढीपहिरोले हाम्रा कैयौँ दाजुभाइ दिदीबहिनीलाई पिरोलेको बेला यस वर्षको दसैं आएको छ, दुखको घडीमा हामी ती सबै नेपालीका साथमा छौं भन्दै उहाँले शान्ति प्रक्रियालाई एउटा सुखद् निष्कर्षमा पुर्‍याउँदै दिगो शान्ति स्थापना गर्नुपर्ने, सबै जातजाति र समुदायबीच सद्भाव बढाउँदै आपसी एकता र मेलमिलाप मजबुत गर्नुपर्ने र अन्तरिम संविधानमा उल्लिखित समयभित्र एउटा नयाँ लोकतान्त्रिक संविधान बनाउनुपर्नेमा जोड दिनुभएको छ । यी काम गर्न सकिएमात्र नेपाल र नेपालीको भविष्य उज्यालो हुनेछ भन्दै उहाँले यी लक्ष्य हासिल गर्न सबै हातेमालो गरेर अगाडि बढ्न सकौं भन्ने कामना गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयादशमीको पावन अवसरमा देशभित्र एवं बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।बहुजातीय, बहुधार्मिक तथा बहुसाँस्कृतिक विशेषता भएको हाम्रो मुलुकमा सबै जाति, धर्म, लिङ्ग, वर्ग एवं क्षेत्रमा रहेका अमूल्य संस्कृति, परम्परा एवं साँस्कृतिक सम्पदाको सम्बर्द्धन गर्दै राष्ट्रिय एकताको जग दह्रो बनाउनु आजको आवश्यकता हो भन्दै आफ्नो शुभकामना सन्देशमा उहाँले मुलुकमा सामाजिक, धार्मिक एवं साँस्कृतिक समन्वय एवं सहिष्णुता कायम गर्दै सामाजिक रूपान्तरणको महान कार्यमा विजयादशमीले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।यसै उपलक्ष्यमा उपराष्ट्रपति परमानन्द झाले असत्यमाथि सत्य र राक्षसमाथि दैवी शक्तिको विजयको थालनीको खुशियालीस्वरूप विजयादशमी मनाउन थालिएको ऐतिहासिक पृष्ठभूमिमा विजयादशमीको उपलक्ष्यमा दसैंपर्व मनाउने सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना व्यक्त गर्नुभएको छ । वैचारिक विमतिभन्दा माथि उठी राष्ट्र निर्माणका खातिर देशमा दिगो शान्ति कायम गर्न सम्पूर्ण नेपालीको सहभागिताको लागि समेत उहाँले आग्रह गर्नुभएको छ ।यसैगरी, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अति प्राचीन र पावन पर्व विजयादशमीको सुखद् उपलक्ष्यमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । आज हाम्रासामु रहेका अनेकौं समस्याको उचित निराकरण गर्न, देशको उत्थान, उन्नति एवं देशवासीको समग्र हितको रक्षा गर्न, देशको संविधान आफैंले निर्माण गर्ने गुरुत्तर जिम्मेवारी पुरा गर्न आज हामी सबैको सम्पूर्ण प्रयत्न केन्द्रित हुनुपर्छ भन्दै उहाँले पर्वलाई अप्ठ्यारो पर्ने महंगो किसिमले नभई साँस्कृतिक र सामाजिक समानताका आधारमा मनाउन सबैसित आग्रह गर्नुभएको छ । यसैगरी एमाले महासचिव झलनाथ खनालले बडादसैंले मुलुकमा जारी शान्ति प्रक्रियालाई तात्विक निष्कर्षमा पुर्‍याउन, मुलुकमा आमूल सामाजिक आर्थिक रूपान्तरण गर्न, वैज्ञानिक भूमिसुधारको कार्यक्रम लागू गर्न, राज्यको पुनसंरचना गर्न र इतिहासमा नै पहिलोपटक आफ्नो संविधान आफैं बनाउने ऐतिहासिक कार्यभार कुशलतापूर्वक पुरा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै वर्ग, तह, लिङ्ग, समुदाय र क्षेत्रका जनताको जागरुकता अझ उन्नत होस्, सबै जातिको जनताबीचको आपसी एकता र सद्भाव अझ गहिरो बनोस् र समृद्ध नेपाल निर्माण गर्ने संकल्पमा ठोस सफलता हासिल होस् भन्ने कामना गर्नुभएको छ ।

No comments: