News

Oct 6, 2008

बाढी प्रभावितको पुनस्थापनामा गम्भीर हुन निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले कोसी बाढीबाट विस्थापित तथा कैलाली र कञ्चनपुर जिल्लामा बाढीबाट प्रभावित जनसमुदायको राहत एवं पुनस्थापनमा संलग्न सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई राहत एवं पुनस्थापनको काममा कुनै अवरोध नहुने व्यवस्था मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत निर्देशन दिने निर्णय गरेको छ ।त्यसक्षेत्रमा कार्यरत राष्ट्रसेवकले प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिएर एवं आलोपालो मिलाइ दसैं बिदामा बस्नुपर्ने र त्यस्तो व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमार्फत निर्देशन दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।खाद्यान्न न्यून भएका पहाडी जिल्लामा जुनसुकै माध्यमबाट आवश्यक परिमाणमा खाद्यान्न आपूर्ति व्यवस्था मिलाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने तथा यसका लागि आवश्यक ढुवानी खर्च अर्थ मन्त्रालयले उपलब्ध गराउने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सरकारले आपूर्तिमा देखिएको असहजता र विभिन्न क्षेत्रमा देखिएको कालाबजारीलाई नियन्त्रण गर्नका लागि गृह र वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मन्त्रीहरुलाई विशेषरुपले कारवाही अगाडि बढाउन निर्देश गर्ने निर्णय गरेको जानकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले दिनुभयो ।

No comments: