News

Oct 11, 2008

संघर्षरत सबै पक्षसंग सरकारले वार्ता गर्न लागिरहेको जानकारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति तथा पुननिर्माणमन्त्री जनार्दन शर्माले देशका विभिन्न भूभागमा राजनैतिक माग राखी सशस्त्र संघर्षरत सबै पक्षसंग सरकारले वार्ता गर्न लागिरहेको जानकारी दिनुभएको छ । रिपोर्टर्स क्लबको साक्षात्कारमा शनिबार उहाँले यस्तो बताउनुभएको हो । वार्ता अगाडि ती पक्षसंग सरकारका तर्फबाट कुनै पूर्वसर्त नराखिने र पूर्वसर्त राखेर गरिएको वार्ताको कुनै अर्थ नरहने बताउनुभयो ।वार्ताका लागि सरकारका तर्फबाट आवश्यक पर्ने वातावरण तयार गर्ने काम भइराखेको बताउँदै मन्त्री शर्माले भन्नुभयो- अब वार्ता प्रक्रियालाई सार्थक बनाउन कुनै कसर बाँकी राखिँदैन । उहाँले अन्तरिम संविधान र शान्तिसम्झौताअनुरूप नेपाली सेना र नेकपा माओवादीका जनमुक्ति सेना समायोजन गरिने र यसका लागि छिट्टै विशेष समिति गठन गरिने तयारी भइरहेको बताउनुभयो । जनगणतन्त्रका बारेमा छलफल हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था नआएको चर्चा गर्दै मन्त्री शर्माले सबै राजनीतिक दल एवं सरकारले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु र नयाँ संविधान निर्माण गर्नु नै अहिलेको साझा काम बनाउनुपर्छ भन्नुभयो । तराइ-मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले संघीयता र राज्य पुनसंरचनामा जानुअगाडि राष्ट्रिय जनगणना गर्न माग गर्दै जनगणनाबाट नै वास्तविकरूपमा प्रादेशिक स्वरूप दिन सकिन्छ भन्नुभयो । आफ्नो पार्टीले सशस्त्र संघर्षमा रहेकासंग वार्ता गर्न सरकारलाई सहयोग गर्ने जानकारी दिँदै उहाँले वार्ता अगाडि सरकारका तर्फबाट उचित वातावरण तयार गर्न सुझाव दिनुभयो ।

No comments: