लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मृत्युबारे विभिन्न धर्ममा अनेक प्रकारले वर्णन गरिएको पाइन्छ । धार्मिक विश्वासीहरुले मृत्युलाई अनेक दृष्टिले परिभाषित गर्ने गरेका छन् । मृत्युसँगै सम्बन्धित नयाँ प्रसंग उपत्यकाको प्राचीन सहर भक्तपुरमा देखिएको छ । सो जिल्लास्थित सिद्धिस्मृति प्रतिष्ठानको सिद्धि शाल्रि्राम वृद्धाश्रममा प्रतिष्ठानले 'आरामदायी मृत्युका लागि हसपिस' सेन्टर निर्माण गरेको छ ।भक्तपुरको भेलुखेलमा सञ्चालन गरिएको सिद्धिस्मृति अस्पताल र सिद्धि शालिग्राम वृद्धाश्रममध्ये वृद्धाश्रमका वृद्धवृद्धालाई मृत्युको अन्तिम अवस्थामा सहजता होस् भनेर हसपिस सेन्टर खोल्ने कार्य सुरु गरिएको प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेलले बताउनुभएको छ ।भक्तपुर, काठमाडौं, ललितपुर, विराटनगरलगायतका क्षेत्रका २५ जना वृद्धवृद्धा रहेका सो वृद्धाश्रममा वृद्धवृद्धाकै लागि सञ्चालित 'डे केयर सेन्टर' मा दैनिक एकसय जना वृद्धवृद्धा आउने गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ । वृद्धवृद्धालाई निशुल्क स्वास्थ्यउपचार, शाकाहारी भोजन, रेकी उपचार, योग, भजन, सत्संगलगायतका सेवा उपलब्ध गराउँदै आएको र वृद्धवृद्धाको संख्या थप गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।मान्छेको जीवनको अन्तिम अवस्थामा वा मृत्युको नजिक पुग्दा हुने पीडा कम गरी सहज एवं आरामदायी मृत्युका लागि प्रतिष्ठानले २४ सै घण्टा नर्सिङ केयर, उपचारका सबै माध्यमको व्यवस्था, आवश्यक मेसिनरी सामान, तीनवटा हसपिस बेडको व्यवस्था गरी तिहारपछि सेन्टर सञ्चालनमा ल्याउने अध्यक्ष धौभडेलले बताउनुभयो । सेन्टरको प्रयोग भने सोही वृद्धाश्रमभित्र बस्ने वृद्धवृद्धाका लागि मात्र आवश्यक पर्दा सञ्चालन गरिने जनाइएको छ ।
No comments:
Post a Comment