News

Oct 7, 2008

अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकहरूको संख्यामा उत्साहजनक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लमजुङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकहरूको संख्यामा उत्साहजनक बृद्धि भएपछि पर्यटन ब्यवसायीहरू उत्साहित भएका छन् । नेपालको सबैभन्दा
बढी ब्यस्त मानिने अन्नपूर्ण पदयात्रा मार्गमा यस बर्ष पर्यटकहरूको आगमन गएको मौसममा भन्दा झण्डै दोब्बर बढेपछि व्यवसायीहरू उत्साहित भएका हुन् । सेप्टेम्बर र अक्टोबर महिना नेपालमा पर्यटक भित्रीने 'पिक सिजन' को रूपमा लिइन्छ । लमजुङ सदरमुकाम बेसीशहरका होटलहरूमा पर्यटकहरू खचाखच भरिएका छन् । पर्यटक राख्ने करीब एक दर्जन होटलहरू सबैमा पर्यटक खचाखच भएपछि कतिपय पर्यटकहरू बासका लागि बेसीशहर भन्दा उत्तरमा पर्ने खुदी, भुलभुले, ङादी र स्याँगेसम्म पुग्ने गरेका छन् ।ट्राभल एजेन्सी एशोसियशन नेपाल-टानको बेसीशहरस्थित पर्यटक जाँच चौकीका अनुसार अहिले लमजुङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकहरूको संख्या झण्डै दुइ सयको हाराहारीमा छ । विशेष गरी इजरायल, जर्मनी, फ्रान्स र अष्ट्रेलियाका पर्यटकहरू यो क्षेत्रमा आउने गरेका जाँच चौकीका कर्मचारी बताउँछन् ।सबैजना बडादसैंको रमझममा मस्त भएका बेला यहाँका पर्यटन ब्यवसायीहरूलाई भने दसैं मनाउने फुर्सद पनि छैन । होटलभरि पर्यटक खचाखच भएकाले पर्यटन व्यवसायीहरूले चाडबाड भन्न पाएका छैनन् । अहिले पर्यटकहरूको आगमन आशालाग्दो भएको बेसीशहरका पर्यटन ब्यवसायी रामकुमार श्रेष्ठ बताउनुहुन्छ ।

No comments: