लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१८ भदौ विद्यार्थी अभावमा काठमाडौं र ललितपुरका २२ वटा निजी विद्यालय बन्द भएका छन् । शुल्क विवरण लिन गएको विद्यालय निरीक्षक र स्रोत-व्यक्तिको टोलीले सञ्चालनको अनुमति लिएका विद्यालय सञ्चालनमा नरहेको भन्दै जिल्ला शिक्षा कार्यालयमा पत्रचार गरेका छन् । केही विद्यालयले भने जिल्ला शिक्षा कार्यालयमा पत्र पठाएर बन्द भएको जानकारी गराएका छन् ।काठमाडौंका मात्र १८ वटा निजी विद्यालय सञ्चालनमा नरहेको स्रोत-व्यक्ति र विद्यालयले निरीक्षकले जिल्ला शिक्षा कार्यालयमा पत्रमार्फत जानकारी गराएका छन् । दुई विद्यालयले आफैं पत्र लेखेर बन्द भएको बताएका छन् ।तेज कृति विद्यासदन स्कुल आफैंले जिल्ला शिक्षा कार्यालयलाई पत्र लेखेर 'हाललाई बन्द' गरेको जानकारी गराएको छ । सो स्कुलले जिल्ला शिक्षा कार्यालयलाई लेखेको पत्रमा भनेको छ, 'तेज कृति विद्या सदन स्कुलको अस्थायी भवन भएको हुनाले भत्कन गई विगत ०६४ देखि सञ्चालन स्थगित गरिएको र सो भवन निर्माणपछि पुनः सञ्चालन गरिनेछ ।' लिटल स्कलर्स इंग्लिस स्कुलले पनि बन्द भएको जानकारी गराएको छ । केही विद्यालय विद्यार्थी अभावमा अर्कै विद्यालयमा गाभिएका छन् ।शुल्क विवरणका लागि पटक-पटक पत्राचार गर्दा पनि नआएपछि विद्यालय निरीक्षक र स्रोत-व्यक्ति ती विद्यालय खोज्दै जाँदा सञ्चालनमा नरहेको जानकारी आएको जिशिका काठमाडौंका संस्थागत विद्यालय शाखा प्रमुख नारायणकाजी कार्कीले बताए । शाखाप्रमुख कार्कीले नयाँ पत्रिकासँग भने, 'शुल्क विवरण बुझाउन नआएपछि विद्यालय खोज्दै जाँदा कतिपय अनुमति लिएको ठाउँमा भेटिएनन् ।' रविभवनको रुद्र एकेडेमी, कालिमाटीको हाम्रो विद्या गृह, क्षेत्रपाटीको मेरिट इंग्लिस स्कुल, नरदेवीको न्यु स्टार इंग्लिस स्कुल, सामाखुसीको हारती प्रावि, खुसिबुको पवित्रा प्रावि, भद्रवासको त्रिशक्ति मावि, इचंगुनारायणको लालिगुराँस पुञ्ज मावि, सिद्धार्थमार्गको ग्यालियम बोर्डिङ स्कुल, छैमलेको लनर्स इंग्लिस स्कुल सञ्चालनमा छैनन् । त्यसैगरी बालाजुटारको कर्टसी इंग्लिस स्कुल, काभ्रेस्थलीको गौरीशंकर मावि, गोलढुंगाको चन्डेश्वरी प्रावि, फुटुङको सरस्वती शिक्षा सदन, मनमैजुको क्रियटिभ मोडेल एकेडेमी, सामाखुसी मनस्वेन मावि सञ्चालनमा नरहेको शिक्षा कार्यालयले जनाएको छ । सञ्चालनमा नरहेका विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले बन्द गर्नुको कारणबारे स्पष्टीकरणसमेत मागेको छ । त्यसैगरी ललितपुरका पनि आधा दर्जन निजी विद्यालय बन्द भएका छन् । तर, गत वर्ष दुईवटा निजी विद्यालय बन्द भएका छन् । जिल्ला शिक्षा कार्यालयका शाखाअधिकृत हरिहर धितालका अनुसार मानभवनको फच्र्युन एकेडेमी र चापागाउँको बसिस्ट मावि सञ्चालनमा छैनन् । ललितपुरमा चार/पाँच वर्षको अवधिमा एक दर्जन जति निजी विद्यालय बन्द भएका छन् ।
No comments:
Post a Comment