News

Jan 15, 2010

सन् १९५० को नेपाल भारत मैत्री सन्धि पुनरावलोकन गर्न भारत सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लामो समयदेखि विवादित रहँदै आएको सन् १९५० को नेपाल भारत मैत्री सन्धि पुनरावलोकन गर्न भारत सहमत भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एसएम कृष्णासँगको द्विपक्षीय कुराकानीका क्रममा भारतीय पक्षले त्यस्तो सहमति जनाएको उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- भारतीय विदेशमन्त्रीले सन्धि पुनरावलोकन गर्न भारत तयार रहेको छ, तपाईंहरू पनि तयार भएर आउनुस् । झन्डै डेढ घण्टासम्म भएको भेटवार्तामा भारतीय विदेशमन्त्री कृष्णाले पूर्व-पश्चिम हुलाकी राजमार्ग निर्माण, नेपाल प्रहरीको क्षमता अभिवृद्धिका लागि तालिम दिने र तालिम केन्द्र निर्माण गर्ने त्यस्तै बागमती सफाइ सभ्यता बचाउ परियोजनालाई कार्यान्वयनमा ल्याउने विषयमा पूर्ण सहयोग गर्न भारतीय पक्ष सहमत भएको कोइरालाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँका अनुसार भारतले नेपालका पाँच गाविसमा सौर्य ऊर्जा कार्यक्रम सञ्चालन गर्नेछ । त्यसरी नै भारतले अन्तरसीमा अपराधको विषयमा विशेष चासो राख्दै त्यसको नियन्त्रणमा जोड पनि दिएको छ । मन्त्री कोइरालाका अनुसार सीमाबाट हुने हतियार तस्करी, जाली नोटको कारोबार, चेलीबेटी बेचबिखन र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा पनि दुई मुलुकबीच सहमति भएको छ । उहाँले यो नेपालको पनि समस्या भएकाले दुवै पक्षले यसमा गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभएको थियो । उहाँहरूबीच मुलुकको पछिल्लो राजनीतिक गतिविधि शान्ति प्रक्रिया र संविधान निर्माणको विषयमा पनि छलफल भएको थियो । सो अवसरमा भारतले नेपालको शाान्ति विकासको पक्षमा भारत रहेको र त्यसका लागि भारत सधैँ तयार रहेको स्पष्ट पारेको थियो ।

No comments: