News

Mar 16, 2012

मेचीदेखि दमकसम्मको लिम्बुवान मार्चपास सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिम्बुवान, नेपाल फागुन २८, २०६८,संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपालको संविधान जारी गरी यसअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको सङ्खुवा-अरुणपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य घोषणा गर्न गराउन सञ्चालित शान्तिपूर्ण संघर्षको चरमोत्कर्ष आन्दोलन जारी छ । यसै आन्दोलनको क्रममा संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले २०६८ फागुन २६ र २७ गते लिम्बुवान, नेपालको पूर्वी सीमा मेचीपुल काँकडभिट्टाबाट दमकसम्मको करिब ५० किलोमिटर लामो दुईदिने पैदल लिम्बुवान मार्चपास सम्पन्न गरेको छ ।
लिम्बुवान, नेपालको पूर्वी सिमाना मेची पुल, काँकडभिट्टामा मार्चपासको लागि भेला भएका हजारौं नेता कार्यकर्ताहरूमाझ मेचीपुल मार्च पासको शुभाराम्भ गरिएको थियो । संघीय मञ्च तथा सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले मार्च पासको उद्घाटन मन्तव्य गर्दै अरुण-सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य घोषणा गराउन शान्तिपूर्व आन्दोलनको रुपमा यो मार्चपास गरिएको बताउनु भयो । साथै, वहाँले यो शान्तिपूर्ण मार्चपासको आन्दोलनलाई केवल कमजोरीको रुपमा मात्र नठान्न एकात्मकवादीहरूलाई चेतावनी दिनुभयो । अध्यक्ष मिराकले आवश्यक परे यी शान्तिपूर्ण तरिकाले खाली हात उत्रेका हजारौं-लाखौं जनताहरू जस्तोसुकै चुनौतीपूर्ण संघर्षका आन्दोलनहरू पनि गर्न पछि नहट्ने र यो मार्चपास त्यसको लागि अभ्यास गरिएको बताउनु भयो ।
संघीयता, गणतन्त्र र लिम्बुवानका विभिन्न नाराहरू उद्घोष गर्दै फागनु २६ गते बिहान मेचीपुस काँकडभिट्टाबाट शुरु भएको यो मार्चपासले करिब ३५ किलोमिटरको पैदलयात्रा पार गरेर त्यसदिन सत्तासी दूधेसम्म पुगेर त्यही गाउँमै एक रात विश्राम गरेको थियो । यसैगरी, दोस्रो दिन फागुन २७ गते सत्तासी दूधेबाट बिहान मार्चपास शुर्रुभई करिब १५ कि. मि. को दूरी पार गरेर दिनको २ बजे दमक झापामा पुगी समापन समारोहमा परिणत भएको थियो ।

यो ऐतिहासिक दोस्रो लिम्बुवान मार्च पासलाई पूर्व-पश्चिम लिम्बुवान लोकमार्गको विभिन्न गाउँ र चोकहरूमा स्थानीय लिम्बुवानवासी र किरात याक्थुङ चुम्लुङ तथा सङ्गठनका शुभेच्छुकहरूले फूलमाला र अविर पहिर्‍याई स्वागत गरेका थिए । साथै, स्थानीयवासीहरूले मार्चपासमा सहभागीहरूलाई पानी, मिठाई र खाजाको समेत व्यवस्था गरिएको थियो । विभिन्न साँस्कृतिक झाँकीहरू साकेला नाच, येबा नाच र च्याब्रुङ नाचको साथ सम्पन्न यस मार्च पासको क्रममा लिम्बुवानका नेतृत्वहरूले मेचीपुल काँकडभिट्टा, सत्तासी दूधे र दमकमा मार्चपासलाई सम्बोधन गरेका थिए । सत्तासी दूधेमा मार्चपासलाई सम्बोधन गर्दै लिम्बुवानका सचिवालय सदस्य तथा संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङले लिम्बुवान मार्चपासमा उल्लेख्य रुपमा महिलाहरूको सहभागिता भएकोमा खुशी र आभार व्यक्त गर्दै अझ सशक्तताका साथ यो संघीयवादी लिम्बुवान आन्दोलनमा लाग्न देश-विदेशमा रहनुभएका सम्पूर्ण लिम्बुवानवासी महिलाहरूलाई आग्रह गर्नुभयो । यसैगरी, लिम्बुवानका केन्द्रीय सदस्य नेत्र ढकालले मार्चपासलाई सम्बोधन गर्दै लिम्बुवान सबै जाति, वर्ग र क्षेत्रको साझा आन्दोलन भएकोले यसमा सबै लिम्बुवानवासी के क्षेत्री, के बाहुन र अन्य सबैलाई निर्धक्कता साथ यो आन्दोलनमा सरिक भई सकारात्मक योगदान पुर्‍याउन समेत आह्वान गर्नुभयो । त्यसरी नै, केन्द्रीय सदस्य दिलकेशर थापा क्षेत्रीले नेपाल संघीयता नै नहुने र भएपनि नाम मात्रको हुने वा लिम्बुवानलाई टुक्राउने तवरले प्रस्ताव गरिएकोले त्यसको विरोधस्वरुप तत्काल सच्याउन र अरुण-सप्तकोशी पूर्व ९ लिम्बुवान स्वायत्त राज्यको सुनिश्चिता गराउन सो लिम्बुवान मार्च पास गरिएको बताउनु भयो ।
लिम्बुवान मार्चपासलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमले अहिले विश्वको राजनीति नै पहिचानको राजनीतिमा केन्द्रित भएकोले नेपालको संघीयता पनि पहिचानको आधारमा हुनुको विकल्प नभएको बताउनु भयो । वहाँले यो कुरा दुई पटकसम्म बनेको राज्य पुनर्संरचना आयोगले पनि पहिचानकै आधारमा संघीय राज्यहरूको सिफारिश गरेर पहिचानको आधारलाई नै मुख्य आधार मानी प्रमाणित गरिसकेको समेत बताउनु भयो । तर, यो सत्य-तथ्यलाई यहाँका एकात्मकवादीहरूले आत्मसात् गर्न नसकी अहिले संघीयता र पहिचानको आधार दुबैमाथि विरोध भइरहेको अवस्थामा सम्पूर्ण संघीयवादीहरू एकजुट भई आन्दोलनमा उत्रन आवश्यक भएको औंल्याउनु भयो । साथै, लिम्बुवानले निरन्तर रुपमा संघीयवादी आन्दोलनाई उचाई दिइरहेकोमा सम्पूर्ण सङ्गठन पङ्क्ती तथा आन्दोलनकर्मीहरूलाई हार्दिक धन्यावाद दिँदै प्रोत्साहन गर्नुभयो ।
लिम्बुवान मार्च पासका प्रमुख नेतृत्व संघीय मञ्च तथा मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले दमकको गणतन्त्र चोकमा आयोजित मार्च पासको समापान समारोहलाई सम्बोधन गर्दै आफ्नो र लिम्बुवानको धारणाहरू राख्नुभयो । अध्यक्ष लिङ्देनले मार्च पास आयोजक लिम्बुवान झापा जिल्ला समिति र सिङ्गो सहभागी लिम्बुवान आन्दोलनकर्मी र देश-विदेशमा रहेको सबै सङ्गठन र शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद दिनुभयो । वहाँले लिम्बुवानमा यत्रो उथलपुथल संघीयवादी लिम्बुवानी आन्दोलन चलिरहँदा पनि एकात्मक राज्यसत्ताले अझै सुनुवाई नगरेकोप्रति आक्रोस र घृणा व्यक्त गर्नुभयो । मिराकले ती एकात्मकवादीहरू जो अहिले पनि संघीयताको नाममा एकात्मक चलखेल गर्दै सिंहदरबारमा षडयन्त्रको जालो बुनेर बसेका छन् उनीहरूलाई संघीयताबारे केही सिक्नु छ भने विदेश होइन लिम्बुवानमा आएर सिक्न चुनौती दिनुभयो । वहाँले लिम्बुवानले जहिल्यै अनेक बन्द हड्ताल गरेर जनतालाई दुःख दिने मात्र होइन आवश्यक परे असहैय दुःख पीडाहरू सहेर आन्दोलनमा उत्रेर त्याग गर्न पनि सक्छन् भन्ने सन्देश दिन यो मार्चपासको आयोजना गरिएको बताउनु भयो ।
अध्यक्ष मिराकले केही दिनअघि सोही चोकमा केही अति ब्रहृमणवादी तत्वहरूले नेपालका संघीयता र लिम्बुवान भए जेठ १५ पछि बन्दुक बोक्ने भन्ने ढाडस दिएकोप्रति प्रतिक्रिया दिँदै लिम्बुवान भने जनताको ढुकढुकी भएकोले त्यस्तो बन्दुकले तर्साउने कुरा नगरी शान्तिपूर्ण आन्दोलन नै गर्ने बताउनु भयो । यसै सन्दर्भमा अध्यक्ष मिराकले लिम्बुवानको अभिन्न अङ्ग दमकको चोकमा उभिएर बन्दुक बोक्ने ढाडस दिनेहरूलाई उता सप्तरी, विरगञ्ज र मलङ्गवातिर गई त्यस्तो अभिव्यक्ति दिई हेर्न चुनौती समेत दिनुभयो । केही च्याउ उमे्रका झुण्डहरूले संघीयता र लिम्बुवानको विरुद्धमा बन्दुक बोक्ने कुरा गर्नु अर्कै कुरा हो तर लिम्बुवानले साँच्चै बन्दुकै बोक्ने दिन आयो भने नेपाल नै रहन्छ कि रहँदैन भन्ने सवाल रहने भएकोले लिम्बुवान त्यस्तो सस्तो लोकप्रियताले बन्दुक बोक्ने कुरा गरेर जनतालाई तर्साउने पक्षमा नरहेको पनि अध्यक्ष मिराकले स्पष्ट पार्नुभयो । वहाँले लिम्बुवान आन्दोलन जहिल्यै पनि शान्तिपूर्ण जातीय सह-अस्तित्व कायम भएको हुने पनि बताउनु भयो । यहाँ कुनै झुण्डले लिम्बू मात्र एक भएर जानुपर्छ र कुनैले क्षेत्री वा बाहुन मात्र एक हुनुपर्छ भन्ने नारा र चलखेल गरेकोप्रति असहमति जनाउँदै आफ्नो सङ्गठन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले अरुण-सप्तकोशीपूर्वमा बसोवास गर्ने सम्पूर्ण जात जाति र समुदाय लिम्बुवानवासीहरू एक भएर संघीयता र लिम्बुवानको सुनिश्चिता गर्नुपर्ने बताउनु भयो । वहाँले इतिहास र जनताको आन्दोलनले गल हत्याएर पाखा लगाएको राजतन्त्रलाई फेरि ब्युँताउनु पर्छ भनेर यदि कोही लिम्बूहरूनै लाग्छन् भने पनि तिनीहरूलाई लिम्बुवानबाटै बहिष्कार गर्ने समेत उद्घोष गर्नुभयो । वहाँले लिम्बुवान सदैव जातीय सह-अस्तित्व र मेलमिलापको पक्षमा रहेको समेत बताउनु भयो ।
वर्तमान संविधान निर्माण र संघीयताबारे भएको गतिविधि बारे औंल्याउँदै अध्यक्ष मिराकले भन्नुभयो- ''संविधान सभाले १४ प्रदेशको खाका ल्यायो । एमाले काङ्ग्रेसका आफ्नै सभासदले ल्याएको त्यो खाका पनि नमान्ने रे । त्यसपछि तिनै एमाले कांग्रेसले नै आयोग आयोग भनेर आयोग बन्यो । र, त्यही आयोगले ल्याएको ११ प्रान्तको प्रस्ताव पनि नमान्ने रे । त्यसो भए सारा लिम्बुवानी जनताले सोध्ने दिन आएको छ कि एमाले काँग्रेसले खोजेको चाहिँ के हो - यदि काँग्रेस र एमालेले साँच्चै संघीयता र लिम्बुवान नै नमान्ने हो भने लिम्बुवानवासी जनताले अझै ती काँग्रेस र एमाललाई मानिरहनुको औचित्य के छ- लिम्बुवानलाई नमान्नेलाई हामीले चाहिँ किन मान्ने - मिराकले प्रत्रि्रश्न गर्दै भन्नुभयो- आज यो प्रश्न लिम्बुवानले सोधिरहेको छ ।'' वहाँले आजभन्दा चौधसय वर्षअघि स्थापित लिम्बुवानको साझा ऐतिहासिक नामलाई नमान्ने र यो गलत छ भने योभन्दा सही चाहिँ के छ त भनी सवाल समेत उठाउनु भयो । यसैगरी, पुनर्संरचना आयोगले लिम्बुवानको अभिन्न भूमि झापा, मोरङ र सुनसरीलाई लिम्बुवानबाट अलग्याएर अन्यत्रै गाभेकोप्रति असमति जनाउँदै त्यहाँका जनताहरूलाई आफ्नो राजधानी जनकपुरमा भएको वा यही लिम्बुवानमै भएको के चाहनु हुन्छ भनी सवाल राख्नु भयो । र, यदि लिम्बुवानमै रहने हो भने आन्दोलनको आँधीबेहरी ल्याउनु पर्ने र नौ जिल्ला लिम्बुवानको पक्षमा उभिनुपर्ने बताउनु भयो ।
सम्बोधनकै क्रममा अध्यक्ष मिराकले लिम्बुवानमा उछालिएको ब्राहृमण र क्षेत्री समाजको कथित आन्दोलनलाई पनि नजकिबाट हेरीरहेको बताउँदै हामी सबै लिम्बुवान मिलेर लिम्बुवान बनाऔँ भन्दै यहाँ ब्राहृमण र क्षेत्रीलाई स-सम्मान लोकतान्त्रिक विधि र अधिकारसहित रहने व्यवस्थाको ग्यारेण्टी हुनेसमेत आश्वस्त पार्नुभयो । अध्यक्ष लिङदेनले लिम्बुवानवासी ब्राहृमण क्षेत्रीहरूलाई एकात्मकवादीहरूको भड्कावमा नलाग्न आग्रह गर्दै लिम्बुवानमा अटेर मिलेर बस्नको लागि के गर्नुपर्दछ - त्यसको लागि आफूहरू महिनौ दिनसम्म पनि छलफल र सहमति गर्न तत्पर रहेको समेत बताउनु भयो । साथै, वहाँले यदि कसैले लिम्बुवानकै विरोध गर्छ र विरुद्धमा उत्रन्छ भने अब आफ्नै जन्म दिने बाबुलाई समेत नछोड्ने लिम्बुवानको कार्यनीति बनेको पनि बताउनु भयो । यसरी लिम्बुवान अन्त्यन्तै शान्तिपूर्ण तरिकाले तर आफ्नो उद्देश्य प्राप्तिको आन्दोलनमा एकदमै कठोर तरिकाले पनि अघि बढिरहेको जानकारी गराउनु भयो । वहाँले अरु जेसुकै जोसुकै रोकिए पनि संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपाल अर्न्तर्गत अरुण-सप्तकोशीपूर्व अखण्ड नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य प्राप्तिका लागि यो लिम्बुवान आन्दोलन कहिल्यै नरोकिने पनि उद्घोष गर्दै सोको प्रतिवद्धता जनाउनु भयो । उक्त लिम्बुवान मार्च पास समापन समारोहको अन्तमा संघीयता, गणतन्त्र र लिम्बुवानवादी विभिन्न नाराहरू लगाउँदै कार्यक्रमको अन्त्य गरिएको थियो ।
- डीबी आङ्बुङ लिम्बू

No comments: