News

Mar 16, 2012

सन् २०१५ मा मेलम्ची काठमाडौँ आइपुग्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र ३ - सन् २०१५ सम्ममा काठमाडौँमा मेलम्चीको पानी आइपुग्ने दाबी मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीहरुले गरेका छन् । सहरी पानी र सरसफाइका लागि एनजीओ फोरम र प्राथमिक स्वास्थ्य सेवाका लागि स्रोत केन्द्रले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सो आयोजनाका पदाधिकारीहरुले अब तीन वर्षमा मेलम्चीको पानी राजधानीम आउने दाबी गरेका हुन् । सुरुवातमा स्थानीयवासीले पनि सहयोग नगरेका कारण र ठेकेदारले विभिन्न बहानामा काम रोकेको कारण यो आयोजना अगाडि बढ्न नसकेको भए पनि अहिले भने स्थानीयवासीले पनि सहयोग गरिरहेको आयोजनाका कार्यकारी निर्देशक कृष्ण आचार्यले बताए । उनले हालसम्म आयोजनाको काम १५ प्रतिशत मात्र भएको भए पनि अब भने कुनै पनि हालतमा काम नरोकिने प्रतिबद्धता जनाउँदै काम सम्पन्न नहुन्जेल निरन्तरता दिने बताए । सिन्धुपाल्चोकका स्थानीयवासी चन्द्रबहादुर थापाले आफूहरु पनि मेलम्चीको पानी काठमाडौँ पुगोस् र राजधानीवासीले पानीको अभावबाट मुक्ति पाउन् भन्ने चाहेको बताए । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रबन्धक विजयमान श्रेष्ठले सरकारबाट आगामी ३० वर्षका लागि उपत्यकामा खानेपानी वितरण गर्नका लागि लाइसेन्स लिएको उल्लेख गर्दै समावेशी रुपमा खानेपानी वितरण गर्न केयुकेएल प्रतिबद्ध रहेको बताए ।

No comments: