News

Mar 28, 2012

संस्थापनले वैद्य समूहसँग सम्झौता नगर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १५ - माओवादी संस्थापन समूहले शान्ति र संविधानमा उपाध्यक्ष मोहन वैद्य समूहसँग सम्झौता नगर्ने निर्णय गरेको छ । बुधबार बिहान पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको संस्थापन समूहको अनौपचारिक केन्द्रीय समितिको बैठकले शान्ति र संविधानमा सम्झौता बाहेकका विषयमामात्र वैद्य समूहसँग छलफल गर्ने निर्णय गरेको स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिए । वैद्य समूहको आग्रहअनुसार नै संस्थापनको अनौपचारिक बैठक बसेको उनले जानकारी दिए । 'किरण (वैद्य)जीहरुको आग्रहमै संस्थापनको अनौपचारिक बैठक बसेको हो,' नेता पुनले संवाददाताहरुसित भने, 'आधिकारिक बैठक नराख्दा पार्टी एकताका लागि सहज हुन्छ भनेपछि संस्थापन समूहकोमात्रै अनौपचारिक बैठक बसेको हो ।'वैद्य समूहले छुट्टै कार्यक्रम घोषणा गरेकाबेला संस्थापन समूहले पनि त्यस्तै जनपरिचालनका कार्यक्रम सार्वजनिक गरेको छ । संस्थापन समूहले चैत २४ गते जनआन्दोलन दिवस मनाउने, २२ अप्रिल (बैशाख ८)मा पार्टी स्थापना दिवस मनाउने, शान्ति, संविधान र मजदुर अधिकारका लागि मे १ मा मजदुर दिवस मनाउने निर्णय गरेको छ ।
स्थायी समिति सदस्य पुनका अनुसार बैठकले बैशाख १ गते बहिर्गमनमा परेका अयोग्य लडाकु र स्वैच्छिक अवकास रोजेका लडाकुहरुको आधिकारिक संगठन घोषणा गर्ने निर्णय गरेको छ । यसैगरी जेठ १४ भित्र शान्ति र संविधान पूरा गर्न अभियान सुरु गर्ने निर्णय भएको पुनले जानकारी दिए । माओवादी प्रवक्ता दीनानाथ शर्माका अनुसार वैद्य समूहसँग नजुध्नेगरी संस्थापनले कार्यक्रम घोषणा गरेको हो । 'एक अर्काका कार्यक्रम नजुधाउने सहमति पहिल्यै भएको थियो,' शर्माले भने ।

पार्टी नफुट्ने दाहाल दाबी
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वैद्य पक्षसँगका अन्तर्संघर्षबारे जानकारी दिएका थिए । 'अध्यक्षले किरणसँगका छलफलहरु सकारात्मक रहेको जानकारी गराउनुभयो,' प्रवक्ता शर्माले भने, 'पार्टी फुट्ने अवस्थामा नपुगेको अध्यक्षको निष्कर्ष थियो ।'दाहालले शान्ति र संविधानका विषयमा कांग्रेस र एमालेसँगका छलफल सकारात्मक रहेको धारणा राखेका थिए । उनले तोकिएकै समयमा जेठ १४ भित्रै दुवै प्रक्रिया सकिने बताएको शर्माले जानकारी दिए ।

No comments: