News

Mar 17, 2012

कोरियामा अवैधानिक कामदारको मानव अधिकार हनन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देवेन्द्र सम्बाहाम्फे
सोल, चैत्र ५ - दक्षिण कोरियामा अबैधानिक रुपले काम गर्दै आएका प्रवासी कामदारहरुको मानव अधिकार हनन भइरहेको यहाँको मानव अधिकार आयोग कोरिया (एचआरसीके)ले जनाएको छ । आयोगले केहि दिन अघि एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी गराएको हो । प्रतिवेदन सन २०१० जनवरीको अन्तिम हप्तामा कोरियाको ४ वटा अध्यागमन केन्द्रमा गएर पक्राउ गरिएका ४१२ अवैधानिक प्रवासी कामदारहरुसँग गरिएको सवाल जवाफको आधारमा तयार पारिएको हो । जस अनुसार ८० प्रतिशत कामदारले छापा मार्ने क्रममा आफ्नो मानव अधिकार उल्लघन भएको प्रतिकृया दिएका छन् । पक्राउका बेला ५० प्रतिशतलाई गाली, १९.१ प्रतिशतलाई शारीरिक हमला र ३०.९ प्रतिशतलाई अन्य खालको दुव्र्यवहार गरिएको जनाइएको छ । प्रतिवेदनमा पक्राउ गरिएका ९६ प्रतिशत कामदारहरुलाई हतकडी लगाईएको,५ प्रतिशतलाई लाठीले कुटिएको र अन्यलाई बेहोश समेत गराईएको उल्लेख छ । यी मध्ये ६० प्रतिशतले अध्यागमन कार्यलय पुग्दासम्म गाडीमा हातकडी सहित राखेको बताएका छन् । 'मलाई पक्राउ गरे लगत्तै अनुहारमा कुटियो त्यसपछिमात्र हतकडी लगाएर गाडीमा चढाइयो । अध्यागमनका कर्मचारी सामान्य पहिरनमा थिए । उनीहरुले यूनिर्फम लगाएका थिएनन् यहाँसम्मकी आफ्नो परिचयसम्म दिएनन्,' पक्राउ परेका एक प्रवासी कामदारले आयोगका अधिकारीहरुसँग भने ।
प्रतिवेदनमा २० प्रतिशत महिला कामदारले धरपकडको बेला यौन दुर्व्यवहार झेल्नु परेको, १४.६प्रतिशतलाई साँघुरो बाहनमा पुरुषसँगै कोचिएको, ३७.८ प्रतिशतलाई पुरुष कामदारसँगै राखिएको र २४.४ प्रतिशतलाई शौचालय जान समेत प्रतिबन्ध गरिएको उल्लेख छ ।
'मलाई अध्यागमन कर्मचारीले परिचयपत्र नदेखाई हातकडी लगाएर गाडीमा राखे । जब मलाई हतकडी लगाएरै शौचालय लगियो मैले हिनताबोध महशुस गरे,' एक महिलाले प्रतिवेदनमा भनेकी छन् । अर्की महिलाले शौचालय जान दिन गरेको अनुरोधमा अध्यागमन कर्मचारीले उनलाई पाईन्टमा नै पिसाब गर्न भनेको समेत आयोगले उल्लेख गरेको छ । यस सम्बन्धी बिस्तृत समचार कोरिया हेराल्डले आफ्नो अनलाईन सस्करणमा प्रकाशित गरेको छ । कोरियको जनशक्ति नीति बिभागका निर्देशक ली थेहीले बैधानिकलाई अधिकार सम्पन्न र अबैधानिक कामदारलाई कडा धरपकड गर्ने सरकारी योजना रहेको प्रतिकृया दिएको महिना दिन नपुग्दै सार्बजनिक गरिएको यस प्रतिवेदनले एक चोटी फेरि यहाँका मजदूर तथा मानव अधिकारकर्मीहरुलाई गम्भीर बनाएको छ ।
गत हप्तामात्र सोल नगरपालिकाले भिषा नभएकै कारण स्वास्थ्य बिमा प्राप्त गर्नबाट बन्चित भएका अबैधानिक प्रवासी कामदारहरुको स्वास्थ्यस्थिति नाजुक रहेको जनाउँदै ८ वटा अस्पतालबाट मातृभाषा अनुवादक सहित उपचार गरिदिने घोषण गरेको थियो । हाल कोरियाको औधोगीक उत्पादन,कृषि,मत्स्यपालन र निर्माण क्षेत्रमा नेपाल सहित १५ मुलुकका ७लाख१४हजार मजदूर कार्यरत छन् । ती मध्ये १लाख ७० हजार अबैधानिक रहेका छन् । दिनानुदिन नेपाली कामदारको संख्या बढिरहेको छ भने अन्य देशको तुलनामा सबैभन्दा थोरै १५ प्रतिशतमात्र अवैधानिक छन् ।

No comments: