News

Mar 19, 2012

लिम्बुवानको इलाम जितपुरमा संघीय लिम्बुवान आमसभा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२०६८ चैत्र ३, जितपुर इलाम, लिम्बुवान,यही चैत्र ३ गते इलाम जिल्लाको जितपुरमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति इलामले लिमबुवान आमसभा आयोजना गर्‍यो । उक्त आमसभामा बोल्दै प्रमुख अतिथि तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले भनेँ- ''अहिले लिम्बुवान आन्दोलनले एकात्मकवादीहरू को विभिन्न षडयन्त्रहरूलाई कुल्चँदै अघि बढिरहेको छ । लिम्बुवानको नामकरण अस्वीकार गर्ने, लिम्बुवानको ऐतिहासिक भूभाग ९ जिल्लालाई खुम्च्याएर पाँच जिल्लामा सिमित गर्ने, संविधान सभा विघटन गर्ने र २०४७ सालको संविधान ब्युँताउनेसम्मका षडयन्नत्रहरू एकात्मकवादीहरूले रचिरहेका छन् । यी एकात्मक षडयन्त्रहरूसँग जुध्न सम्पूर्ण लिम्बुवानवादीहरूले आ-आफ्नो दिमागबाट एकात्मक पार्टीहरूले थोपरेका दासत्वको कालो पर्दालाई च्यातचुत पारेर सङ्ग्रामको लागि तयार रहनुपर्दछ । र, लिम्बुवानबेगरको संविधान अमान्य हुनेछ भनेर प्रत्येक लिम्बुवानीहरूबाट आवाज उठ्नुपर्दछ ।''
आमसभालाई सम्बोधन गर्दै परिषदका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले भनेँ- ''म लिम्बू होइन, सङ्खुवासभाको गुरुङ गाउँमा जन्मेको गुरुङ हुँ । तर म लिम्बुवान हुँ । म लिम्बुवानवासी हुँ । त्यसैले म लिम्बुवान हुँ । मैले बुझेको छु- लिम्बुवान आन्दोलन जति सशक्त हुन्छ त्यतिनै तमुवान र मगरात प्राप्तिको आन्दोलनलाई पनि बल पुग्छ । त्यसैले म लिम्बुवान हुँ । यहाँ धेरै लिम्बूहरू 'म लिम्बुवान हुँ' भन्न सकिरहेका छैनन् । तर म गर्वका साथ भन्छु- 'म लिम्बुवान हुँ' र मेरो शरीरमा एक थोपा रगत भइञ्जेलसम्म लिम्बुवानको लागि लडिरहनेछु ।''
यसरी नै उक्त आमसभामा परिषदका सचिवालय सदस्यहरू शान्ता योङहाङ, प्रेमदीप थाम्सुहाङ, लोकसागर साम्बा, थाङसाङ लावती र दिलेन्द्र कुरुम्बाङले पनि मन्तव्य राखेका थिए । परिषदका केन्द्रीय सदस्यहरू डुपछिरिङ लेप्चा, डम्बर राई, संगम खनाल र इलाम जिल्ला अध्यक्ष दिलप्रसाद नेम्बाङ एवम् पान्थर जिल्ला अध्यक्ष लाबाहाङ चेम्जोङले पनि सो आमसभामा आफ्नो भनाइ राखेका थिए ।
परिषद जितपुर गाउँ कार्य समितिका अध्यक्ष चक्रभक्त लिम्बूको सभापतित्व र याम माबो लिम्बूको उद्घोषणमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय लिम्बुवानी कलाकारहरूले मगर जातिको हुर्रा नाच, लिम्बू समुदायमो च्याबु्रङ नाच र बाहुन समाजको बालन नृत्य पनि प्रस्तुत गरेका थिए । परिषदको केन्द्रीय कार्यालय दमकबाट लिम्बुवान भोलेण्टियर्स सिनियर उपकमाण्डर मुक्साम लाबुङ लिम्बूको नेतृत्वमा जितपुर आएको टोलीले त्यस दिनबेलुकी सोही ठाउँमा प्रोजेक्टरमार्फत विभिन्न लिम्बुवानी कार्यक्रम र आन्दोलनका डकुमेन्ट्रीहरू प्रदर्शन गरेको थियो ।
डीबी आङबुङ/मुक्साम लाबुङ,लिम्बुवान

No comments: