News

Mar 15, 2012

सिँचाइमन्त्रीले सचिवलाई दुर्व्यवहार गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र २ - सरुवाका विषयमा सिँचाइमन्त्री महेन्द्र यादवले सचिव वृन्दा हाडालाई दुव्र्यवहार गरेको भन्दै कर्मचारीले प्रधानमन्त्री बाबुराम भट्टराईको ध्यानाकर्षण गराएका छन् । सचिव हाडा, सिँचाइ र जलउत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक अनिलकुमार पोखरेल र कमल रेग्मीसहितको कर्मचारी समूहले बुधबार प्रधानमन्त्रीलाई भेटेर मन्त्री र तिनका निजी सचिवले अपशब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै कारबाहीको धम्की दिएको गुनासो गरेका हुन् । प्रधानमन्त्रीले मुलुकमा सत्य र न्यायको पक्षमा उभिने पनि छन् भन्दै कर्मचारीलाई आश्वस्त पार्ने प्रयास गरेका थिए । 'केही संकेत पाए पनि यस्तो भएको थाहा थिएन,' प्रधानमन्त्रीले भने, 'मन्त्रीलाई पनि सोध्छु ।' मन्त्रीको दबाबमा सचिवको सरुवा गरे तालाबन्दी गर्ने चेतावनी कर्मचारीले दिएका थिए ।
सिँचाइ मन्त्रालयले गत सोमबार उपसचिव र शाखा अधिकृत तहका २ सय ४१ इन्जिनियरको सरुवा गरेको थियो । सरुवाको निर्णय हुनासाथ सरुवा भएका कर्मचारीको सूची टाँस्नुका साथै वेबसाइटमा राखेको थियो । उक्त सरुवामा मन्त्रीका एक जना इन्जिनियर आकर्षक ठाउँमा नपरेकामा सचिवलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सहसचिव खोमराज दाहालले प्रधानमन्त्रीलाई बताए । मन्त्रालयले अन्तरविभागीय सरुवा गरेपछि सिँचाइ र जलउत्पन्न प्रकोप नियन्त्रण विभागमा तिनको पदस्थापनलाई अन्तिम गर्ने काम भइरहेको थियो । मन्त्रीले राति ११ बजे टेलिफोनमार्फत पदस्थापनको सूची देखाउन भने । 'त्यसपछि उक्त सूचीमा आकर्षक मानिएको एउटा परियोजनामा सरुवा भएका इन्जिनियरको नाममा आपत्ति जनाउँदै कार्यालयमै गालीगलौज सुरु गरे,' प्रधानमन्त्रीसँग एक इन्जिनियरले भने, 'लगातार आधा घन्टा अन्य कर्मचारीसामु मन्त्रीले सचिवलाई अपशब्द प्रयोग गरे ।' मन्त्रीका निजी सचिव मनोज चौधरीले पनि अपशब्द प्रयोग गरेको उनले बताए । प्रधानमन्त्रीसमक्ष बताउन नसकिने खालका अपशब्द प्रयोग गरेको कर्मचारीले बताएका थिए ।
'आज सिँचाइका कर्मचारीको नूर गिरेको छ,' निजामती कर्मचारी संगठनका युवराज खरेलले भने, 'सचिवमाथि सडकछाप गालीगलौज गर्ने मन्त्री रहेको ठाउँमा हामी जागिर खान बाध्य छौं ।' मन्त्रीले सचिवलाई कारबाही गरेरै छाड्ने धम्की दिएको सिँचाइ विभागका महानिर्देशक पोखरेलले प्रधानमन्त्रीलाई सुनाए । सचिवलाई थ्रेट गर्ने मन्त्रीले आफूलाई पनि नछाड्ने उनको भनाइ थियो । प्रधानमन्त्रीले सोध्दा सचिव हाडाले भने केही बताउन चाहिनन् । सिँचाइ विभागका महानिर्देशक पोखरेलले पैसा खाएर जथाभावी सरुवा गराएकाले मन्त्री असन्तुष्ट रहेको मन्त्री निकट स्रोतको दाबी छ । तर मन्त्रीले १९ जनाको सूची दिएकामा १० जना पनि नपरेको मन्त्रालयका एक इन्जिनियरले बताए । स्रोतअनुसार पैसा असुलिएका कारण आकर्षकबाट आकर्षक ठाउँमा ठूलो संख्यामा सरुवा भएका छन् । मन्त्री यादवले सरुवा सूची सार्वजनिक हुनुअघि दुवै महानिर्देशकलाई बोलाएर उदाहरणसहित सरुवामा अनियमितता भएको बताएका थिए ।
उनले आकर्षक मानिने नुवाकोट सिँचाइ डिभिजनमा ४ वर्ष बिताएका मधुकर राणालाई जलउत्पन्न प्रकोप नियन्त्रण विभागको नदी नियन्त्रण आयोजना तथा जलसिँचाइ व्यवस्थापन आयोजनाका कुञ्जनभक्त श्रेष्ठ झापा डिभिजनमा कसरी सरुवा भए भनेर प्रश्न गरेका थिए । बझाङ, सोलुखुम्बुमा लामो समयदेखि कार्यरतको सरुवा नगरिएकामा असन्तुष्टि जनाएका थिए । 'तर सरुवाको निर्णय सच्याउनुको सट्टा हतार-हतारमा वेबसाइटमा राखियो,' ती इन्जिनियरले भने, 'आफ्ना जायज कुरा पनि सुनुवाइ नभएपछि मन्त्रीको चित्त नबुझ्नु स्वाभाविक छ ।'सिँचाइमा अनियमित काज सरुवाको कारण विकृति फैलिएको भन्दै विभागका इन्जिनियरले 'शुद्धीकरण अभियान' थालेका थिए । इन्जिनियरले तत्काल अनियमित काज सरुवा बदर गरी नियमित सरुवा गर्न आन्दोलन गरेका थिए । सचिव हाडाले फागुनमा सरुवाको विकृति अन्त्य गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन रोकिएको थियो । तर अहिले शुद्धीकरण अभियानका सबै अगुवालाई आकर्षक ठाउँमा सरुवा गरिनुले पनि अभियानको उद्देश्य प्रस्ट भएको मन्त्री निकट इन्जिनियरले बताए ।

No comments: