News

Mar 14, 2012

बन्दले कोशी मेचीको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनकुटा, चैत २ - संघीयताको विरोध गर्दै राष्ट्रिय जनमोर्चा नेपालले गरेको मेची कोशी बन्दले जनजिवन प्रभावित भएको छ। बन्दले धनकुटा बजारमा मोटरसाइकल, एम्बुलेन्स र दुधका गाडीहरु सञ्चालनमा आए पनि सार्बजानिक यातायातका साधनहरु चल्न सकेको छैनन्। विराटनगरबाट अजित तिवारीले जनाएअनुसार फाट्टफुट्ट मोटरसाइकलबाहेक अन्य सवारी साधन चलेका छैनन्। राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध छ। त्यस्तै धनकुटा जिल्लाका आधा भन्दा बढी पसलहरु खुलेका छन्। बन्दकर्ताहरु बजारमा झण्डा बोकेर बन्द गराउँदै हिडेका छन्। जिल्लाको ३१५ वटा सामुदायिक र ३४ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द भएको छ। ती विद्यालयमा अध्ययन गर्ने ५८ हजार ५८८ जना विद्यार्थीले पढ्न पाएनन्। पठन पाठन बन्द भएपनि कक्षा ८ को परीक्षा भने सञ्चालन भएको जिल्ला शिक्षा कार्यालयका उपसचिव रमेश दाहालले बताए।
त्यस्तै गरी बन्दले तेह्रथुम जिल्लामा पनि यातायात, बजार र शैक्षिक क्षेत्रमा असर गरेको छ। तेह्रथुम जिल्लामा बन्दले २४० वटा सामुदायिक र १२ वटा संस्थागत विद्यालयको पठनपाठन रोकिएको छ। ती विद्यालयमा अध्ययन गर्ने ४७ हजार ६०६ जना विद्यार्थीको पढाई प्रभावित भएको छ। तेह्रथुममा पनि कक्षा ८ को जिल्लास्तरीय परीक्षा भने सञ्चालन भएको विद्यालय निरीक्षक लिला पोख्रेलले बताए।
संखुवासभा जिल्लामा बन्दले ३८७ वटा सामुदायिक र २९ वटा संस्थागत विद्यालय प्रभावित भए। ती विद्यालयमा अध्ययन गर्ने करीब ४६ हजार विद्यार्थी प्रभावित भएको विद्यालय निरीक्षक दिपक घिमिरेले बताए। संखुवासभामा कक्षा ८को जिल्ला स्तरीय परीक्षा सञ्चालन भईरहेको छ। त्यस्तै गरी भोजपुर जिल्लामा पनि बन्दले ४६० वटा सामुदायिक र ४ वटा नीजि विद्यालय बन्द भए। बन्दले करीब ६५ हजार ५ सय विद्यार्थीको पढाई प्रभावित भएको छ। यी जिल्लामा पनि यातायात र बजार बन्द रहेको बताइएको छ।

No comments: