News

Mar 23, 2012

देउवा पक्षीयद्वारा सामूहिक राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १० - नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन गराउन गठन गरिएको तदर्थ समितिबाट शेरबहादुर देउवा पक्षीय मानिएका २८ जना विद्यार्थी नेताहरुले शुक्रबार सामूहिक राजीनामा गरेका छन् । तदर्थ समितिको गठन प्रक्रियाप्रति आपत्ति जनाउँदै समितिमा मनोनित गरिएका देउवा पक्षीय विद्यार्थीनेताहरुले पार्टी सभापति सुशील कोइरालालाई आफ्नो राजीनामा बुझाएका छन् । राजीनामा बुझाउने क्रममा ठूलो संख्यामा विद्यार्थीहरुको जुलुश कोइराला निवास पुगेको थियो । पार्टीले नेविसंघ विघट्न गरी महाधिवेशनका लागि १ सय १ सदस्यीय तदर्थ समिति गठन गरेको छ । विद्यार्थीहरुको राजीनामा पत्र बुझ्दै कोइरालाले समस्या समाधानका लागि आफूले छलफल गर्ने बताए । 'मैले कुरा बुझे,पत्र पनि हेरे,'कोइरालाले भने-'नेविसंघ विवाद समाधानका लागि गठन गरिएको समितिसंग छलफल गर्नेछु ।' महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा नेविसंघको विवाद मिलाउन समिति बनाइएको छ । देउवा पक्षीय मानिएका विघटित नेविसंघ कार्यसमितिका उपाध्यक्ष नयनसिंह महरले जम्बो तदर्थ समितिको गठन प्रक्रिया र प्रवृति हेर्दा त्यो निर्वाचन गराउनका लागि नभएको देखिएको बताए । उनले फेरि टिके प्रथाको सुरुवात गरिने छाँटकाट देखिएकोले बिरोध गरिएको बताए । जम्बो तदर्थ समितिमा पनि छात्राहरुको संख्या अत्यन्तै न्युन रहेकोमा पनि आफूहरुको आपत्ति रहेको उनले जनाए ।

No comments: