News

Mar 22, 2012

प्रधानमन्त्रीले मागे श्रममन्त्रीको राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र ९ - प्रधानमन्त्री बाबुराम भट्टराईले श्रम तथा यातायातमन्त्री सरिता गिरीसँग मन्त्रालयमा विवादास्पद म्यानपावर एजेन्सीको इसारामा काम गरेको भन्दै राजीनामा मागेका छन् । प्रधानमन्त्रीले सद्भावना (आनन्दीदेवी) का तर्फबाट मन्त्री बनेकी गिरीलाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बुधबार अपराह्न बोलाई स्पष्टीकरण लिएर राजीनामा मागेको स्रोतले जनायो । प्रधानमन्त्रीले वैदेशिक रोजगार विभागमा भ्रष्टाचार नियन्त्रणमा राम्रो काम गरिरहेका र त्यहाँ सुधार कार्यक्रम लागू गरिरहेका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई विवादास्पद म्यानपावरको इसारामा किन सरुवा गरेको भन्दै मन्त्री गिरीप्रति रोष प्रकट गरेका थिए । 'तपाईंको कदमले विभागमा वैदेशिक रोजगारमा जाने गरिब नेपालीलाई दुःख दिएर हुने भ्रष्टाचार पुनः बढ्ने र सुधारका कार्यक्रमसमेत प्रभावित भएको छ,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'म विभागमा गरिब नेपाली ठगिएको टुलुटुलु हेरेर बस्न सक्तिनँ । अब तपाईंले राजीनामा गरेर मलाई सहयोग गर्नूस् ।'
प्रधानमन्त्रीले 'मैले सोमबार स्पष्टीकरण दिन आउनु भन्दा नआउने, उल्टै राम्रो गरिरहेका कर्मचारीमाथि लान्छना लगाएर किन पत्रकार सम्मेलन गरेको ?' भनेरसमेत सोधेका थिए । प्रधानमन्त्रीसमक्ष स्पष्टीकरण दिन नगई मंगलबार पत्रकार सम्मेलन गरी गिरीले महानिर्देशक भट्टराईले नयाँ म्यानपावर दर्ता गर्दा पक्षपात गरेको र विभागमा नराम्रा काम गरेको लिखित तथा मौखिक गुनासो आएकाले छानबिनका लागि सरुवा गरेको दाबी गरेकी थिइन् । उनले प्रधानमन्त्रीसमक्ष पनि यही दाबी दोहोर्‍याएको स्रोतले जनायो । वैदेशिक रोजगारीका नाममा मानव तस्करी गरी लुट मच्चाइरहेका म्यानपावर एजेन्सीहरूले भट्टराईलाई महानिर्देशक भएदेखि नै त्यहाँबाट हटाउन मन्त्री गिरीलाई दबाब दिँदै आएका थिए । गिरीले प्रधानमन्त्रीले आफूसित राजीनामा मागेकोबारे बोल्न चाहिनन् । 'प्रधानमन्त्रीसँग बुधबार मेरो भेट भएको हो । उहाँले आफ्नो दृष्टिकोण राख्नुभयो, मैले आफ्नो धारणा राखेंं,' उनले भनिन्, 'थप के कुरा भएको हो, म अहिले बोल्दिनँ ।'

No comments: