News

Mar 27, 2012

बर्खास्त मन्त्री दत्त भन्छन् : महन्थबाहेक मोर्चाका सबै नेता लुटमा मस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १४, प्रधान मन्त्रीले सोमबार राति अकस्मात बर्खास्त गरेका कृषि तथा सहकारी मन्त्री नन्दनकुमार दत्तले मधेसी मोर्चाका नेतामध्ये महन्थ ठाकुरबाहेक सबै अहिले लुट गर्नमा मस्त भएको बताएका छन्। त्यस्ता नेताबारे भण्डाफोर गर्ने चेतावनी पनि उनले दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले मङ्गलबार आयोजना गरेको साक्षात्कारमा दत्तले भने– मलाई सफाईका लागि एक मिनेट पनि समय नदिई बर्खास्त गरियो। सफाईको मौका दिएको भए आफैं राजिनामा दिने तयारीमा रहेको खुलासासमेत उनले गरे। उनले भने– प्रधान मन्त्रीले अवैधानिकरुपमा मलाई बर्खास्त गर्न लागेको थाहा पाएर मैले प्रधान मन्त्रीलाई सफाईको मौका दिनूस् भनेको थिएँ तर मौका नै नदिई हटाउनुभयो। दत्तले आफूलाई बर्खास्त भनिएकामा राजिनामा दिएर त्यसलाई सच्याउन चाहेको भन्दै यति भइसकेपछि पदमा बसिरहने आफ्नो कुनै चाहना नभएको दाबीसमेत गरे।
उनले संसदीय दलको नेताको अनुपस्थितिमा उपनेताले संसदीय दलको बैठक बोलाउनुपर्नेमा अवैधरुपमा बैठक बसेर आफूलाई हटाएको भन्दै संसदीय दलको नेता चयन गर्न पार्टीले निर्वाचन मण्डल गठन गर्नुपर्नेमा त्योसमेत नगरी संसदीय दलको नेता चयन गरिएकोसमेत बताए। दत्तले प्रधान मन्त्री सत्ता टिकाउन अनैतिकरुपमा जे पनि खेल खेल्न तयार रहेको आरोप लगाउँदै मधेसी मोर्चाका चार अध्यक्षलाई खुसी पारेर प्रधान मन्त्री आफ्नो सत्ता टिकाउने खेलमा लागेको दाबी गरे। मधेसी मोर्चामा तमलोपाका अध्यक्ष महन्थ ठाकुरबाहेक सबै नेता कुनै न कुनै बहानामा सत्तामा टिकेर मुलुकलाई लुटखसोट गर्न लागिपरेको आरोप लगाउँदै सत्तामा टाँसिरहने यस्ता नेताको भण्डाफोर गर्ने चेतावनी दिए। उनले बर्खास्तीपछि आफूलाई सार्वजनिकरुपमा नबोल्न पटकपटक धम्की आइरहेको उल्लेख गर्दै जस्तोसुकै परिस्थितिमा पनि आफू अन्याय सहेर नबस्ने स्पष्ट पारे। उनले प्रधान मन्त्रीमा क्षमता, अनुभवको कमीका साथै निरीह रहेको भन्दै मधेसी नेताहरुको चरित्र हत्या गरेर समाप्त गर्ने षडयन्त्रमा लागेको आरोपसमेत लगाए।
पार्टीमा भइरहेको षडयन्त्र र अवैध कामविरुद्ध आफूहरु पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने तयारीमा लागेकोसमेत साक्षात्कारमा उनले बताएका थिए। पार्टी अध्यक्ष जेपी गुप्ता जेल गएको तीन दिनदेखि नै आफूविरुद्ध षडयन्त्र सुरु भएको दाबी गर्दै अहिले मन्त्री पदका लागि पार्टीभित्र ठूलो सौदावाजी भइरहेकोले त्यसको गम्भीर अनुसन्धान गर्न अख्तियारलाई आग्रहसमेत उनले गरे। उनले वैधानिक ढङ्गले हटाएको भए उचित हुने तर्क गर्दै टाउको गनेर गरिएको बर्खास्ती लोकतन्त्रको मान्यताविरुद्ध भएको टिप्पणीसमेत गरे।

No comments: