News

Mar 19, 2012

सात सयभन्दा बढी माओवादी लडाकु एसएलसी दिँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत ६- चितवन र नवलपरासीका गरी सात सयभन्दा बढी लडाकु मङ्गलबारदेखि सुरु हुने एसएलसी परीक्षा दिँदैछन्। समायोजन रोजेर शक्तिखोर शिविरमा रहेका तथा केही समयअघि स्वेच्छिक अवकास रोजेर बाहिरिएका गरी चितवनका पाँच सय चार लडाकुले एसएलसी दिन लागेका हुन्। यसैगरी नवलपरासीका दुई सय लडाकुले एसएलसीमा सहभागिता जनाउँदैछन्। लडाकुले खुलातर्फबाट परीक्षामा सहभागिता जनाउन लागेका हुन्। चितवनका लडाकुले जुटपानीको पृथ्वी उच्च मावि, शक्तिखोरको चतुर्मुखी उच्च मावि र जनजागृति उच्च माविबाट परीक्षा दिनेछन्। नवलपरासीका लडाकुले भने अरुणखोला र चोरमारामा रहेको उच्च माविबाट परीक्षा दिनेछन्। 'बन्दूक चलाउन जानेर मात्रै नपुग्ने रहेछ, सेनामा शिक्षा पनि आवश्यक रहेछ, समायोजन रोजेका लडाकु विनय मगरले भने- त्यसैले परीक्षा दिन लागेको। उनीजस्तै समायोजनमा जान तयार कम्पनी कमाण्डर यमबहादुर घर्ती मगर पनि शिक्षा जतासुकै अपरिहार्य भएको बताउँछन्। 'पहिले लडाईमात्र हो जस्तो लाग्थ्यो, त्यही सिकियो, उनले भने- अब सेनामा जानेले पनि पढ्नु पर्दोरहेछ। यी दुई लडाकु जूटपानीको पृथ्वी उच्च माविबाट परीक्षा दिँदैछन्। पदकै बारेमा पनि पढ्नेले स्थान पाउने भएकाले पनि आफूहरुले एसएलसीसँगै पढाई अगाडि बढाएको लडाकु बताउँछन्। 'पहिले बुर्जुवा भनिन्थ्यो, अहिले यसकै बढी महत्व लागेको छ, लडाकु दीपक कार्की भन्छन्- बन्दूक र कलमको शक्ति उस्तै लाग्यो। उनले जनजागृति उच्च माविबाट परीक्षा दिँदैछन्। पाँच वर्ष शिविरमा रहँदाको फुर्सदको समयलाई अत्यधिक लडाकुले शिक्षा लिनमै खर्चेका छन्। जसका कारण उनीहरुमा शैक्षिक चेतना बढेको लडाकु बताउँछन्। यसअघि गत वर्ष पनि ४७ लडाकुले परीक्षा दिएका थिए। सोको अघिल्लो वर्ष २०६६ सालमा ५ सय ४३ लडाकुले एसएलसी दिएका थिए। लडाकुले परीक्षा दिने विद्यालयमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए। शिविरक़क़मा रहेका लडाकुले भित्रै रहेर परीक्षाको तयारी गरिरहेको प्रवक्ता जनक बिष्टले बताए। 'बाहिरिएका साथीहरु भने स्कुलको सम्पर्कमा आएर परीक्षा दिने तयारीमा छन्'- उनले भने।

No comments: