News

Mar 23, 2012

उपसमितिमा संविधानका बारे अझै छलफल भएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत्र १०,काँग्रेस र एमाले नेताहरुले शान्ति प्रकृया नटुङ्गिएको भन्दै शुक्रबारको बैठकमा पनि नयाँ संविधानका विवादका बिषय बारे कुरा गर्न मानेन् । उनीहरु पहिल शान्ति प्रकृया नटुङ्गिएसम्म अरु बिषयमा कुराकानी नगर्ने अडान दोहोर्याए । विवाद समाधान उपसमितिको बैठकमा शुक्रबार संयोजक तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले अवको पाँच दिनमा बिशेष समितिले समायोजनको खाका ल्याउने हुँदा संविधान निर्माण कार्यलाई पनि संगसंगै लैजान प्रस्ताव गरेका थिए । तर, बैठकमा सहभागी काँग्रेस र एमाले नेताहरुले शान्ति प्रकृया अघि नबढेको बताए । 'शान्तिप्रक्रिया कार्यतालिकाअनुसार अब छिट्टै योजनाबद्ध ढङ्गले अघि बढ्छ, त्यसकारण संविधान लेखनको कामलाई पनि सँगसँगै अघि लैजाऔं' दाहालले प्रस्ताव राखेका थिए । माओवादी संसदीय दलका सचेतक देव गुरुङका अनुसार काँग्रेस नेताहरुले भने शान्तिप्रक्रिया अघि बढेको मान्न नसकिने भनेका थिए । सभामुख सुभाष नेम्वाङले प्रक्रियागत रुपले समय सारै थोरै भइसकेकाले संविधान लेखनको पटक पटक कार्यतालिका सार्नु परेको परिस्थितिबारे ध्यानाकर्षण गराएका थिए । तैपनि काँग्रेस र एमाले नेताहरुले संविधानबारे छलफलमा प्रवेश गर्ने चाहना राखेनन् ।
बैठकपछि एमाले नेता सुरेन्द्र पाण्डेले बैठकको प्रारम्भमा शान्तिप्रक्रियामा प्रगति भइरहेकोबारे संयोजक दाहालले व्याख्या गरेका बताए । 'मुख्य विषय शान्तिप्रक्रिया टुङ्गिन्छ कि टुङ्गिदैन भन्ने नै हो, यही चैत २० गतेसम्म शान्तिप्रक्रियाको कामले एउटा बाटो लियो भने संविधान लेखिन्छ अन्यथा भन्न अप्ठेरो हुन्छ' उनले भने । काँग्रेस नेता रमेश लेखकले सेना समायोजनसम्बन्धी विशेष समितिको निर्णयमाथि गम्भीर छलफल भएको, संविधानका विषयवस्तु छिटो सम्पन्न गर्ने र त्यसका लागि सहमतिका आधारमा अघि बढ्नुपर्छ भन्नेमा दलहरुबीच मतैक्यता रहेको उल्लेख गरे । शान्ति र संविधानका टुङ्गो लगाउन बाँकी सबै विषयमा सहमति कायम गर्ने सम्बन्धमा राजनीतिक तहमा समग्ररुपमा छलफल भइरहेको निचोडसहित अर्को बैठक यही चैत १४ गते बोलाउने निर्णयसमेत बैठकले गरेको छ । बैठकमा प्रधानमन्त्री डा बाबुराम भट्टराई, सभामुख, उपसभामुख, सवैधानिक समितिका सभापति, उपसमितिका सदस्यलगायत आमन्त्रित सदस्यको समेत सहभागिता थियो ।

No comments: