News

Aug 2, 2008

माओवादीले नीति परिवर्तन नगरेसम्म सहकार्य नहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
माओवादीले नीति परिवर्तन नगरेसम्म उसँग सहकार्य हुन नसक्ने तथा यथास्थितिमै माओवादीसँग सहकार्य गरे मुलुक हिटलरको ग्यास च्याम्बर बन्नसक्ने बिचार एमाले महासचिव झलनाथ खनालले राखेका छन् । एमाले महासचिव झलनाथ खनालले माओवादीको नीतिमा परिवर्तन नआएसम्म यथास्थितिमा उसँग सहकार्य हुननसक्ने बताएका छन् । राजधानीमा साउन १८ गते पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै खनालले यथास्थितिमा माओवादीसँग सहकार्य गरे मुलुक हिटलरको ग्यास च्याम्बर जस्तै हुनसक्ने दावी गरे । खनालले माओवादीबिनाको सरकारको कल्पना कसैले नगरेको उल्लेख गर्दै उसको एकलौटि सरकारको सम्भावना नरहेको पनि बताए । साउन १७ गते माओवादी केन्द्रीय समितिको बैठकले तेश्रो बिकल्पमा आफ्नो एकलौटी सरकार बनाउने निश्कर्ष निकालेको थियो। एमालेसँग सहकार्य टुटेको सन्दर्भमा माओवादी केन्द्रीय समितिले गल्ती स्विकारेकोबारे बोल्दै खनालले माओवादीको आन्तरिक बिबादका कारण आफ्नो दल र माओवादीबीचको सहकार्य टुटेको उल्लेख गरे । माओवादीको एक समूह एमालेसँगको सहकार्यको पक्षमा रहेको बताउदै खनालले माओवादीको प्रयोग गर्ने र छाड्ने नीतिका कारण आफ्नो दलसँगको सहकार्य टुटेको धारणा राखे । खनालले राष्ट्रिय सहमतिको सरकारको कुनै बिकल्प नभएको पनि संचारकर्मीहरुबीच बताए ।

No comments: