News

Sep 7, 2008

कानुन हातमा लिएर अराजकता उत्पन्न गर्ने जुनसुकैलाई कानुनको कठघरामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमले कानुन हातमा लिएर अराजकता उत्पन्न गर्ने जुनसुकै राजनीतिक दल, तिनका भ्रातृ सङ्गठन एवं समूहका क्रियाकलापलाई कडाइसाथ कानुनको कठघरामा ल्याइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।एमालेका बर्दिया र जाजरकोट, काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो- जनताका हकअधिकार खोसिएका छन् र मुलुक अराजकताको शिकार भएको छ, त्यसैले जनताको चाहनाअनुरूप शान्ति र अमनचैन कायम गर्न म दृढतापूर्वक लाग्नेछु ।उपप्रधानमन्त्री गौतमले अपराधीहरू अहिलेदेखि नै भाग्न र तर्सन थालेका छन् भन्दै केही दिनमा नेपाली जनताले शान्ति सुरक्षा र अमनचैनको अनुभूति गर्ने धारणा राख्नुभयो । सरकारमा बसेर एमालेलाई कसरी फाइदा पुग्छ भनेर नभइ देश र जनतालाई कसरी सहजता प्राप्त हुन्छ भन्ने विषयलाई केन्द्रमा राखेर आफूले काम गर्ने बताउँदै उहाँले यो सरकारले देशमा शान्ति सुरक्षा कायम गर्ला भन्ने ठूलो आशामा नेपाली जनता रहेकाले जनताको यो आशामा आफूले कदापि तुषारापात हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।उपप्रधानमन्त्री गौतमले आफ्नो यो अभियानमा सहयोग पुर्‍याउन एमालेका कार्यकर्ता एवम् समग्र नेपाली जनतासँग अपिल पनि गर्नुभयो । लामो समयदेखि अस्तव्यस्त र असुरक्षित रहेको मुलुकलाई सुरक्षा अनुभूति दिलाउनुपर्ने जिम्मेवारी एमालेले मेरो काँधमा सुम्पिएकाले पार्टीको निर्देशन र नेपाली जनताको अपेक्षाअनुरूप आफूले काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

No comments: