News

Sep 6, 2008

'प्रजातन्त्रको संस्थागत विकास नहुँदा गरिबी बढ्यो' - राष्ट्रपति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनताले प्रजातन्त्रका लागि पटकपटक सङ्घर्ष गर्नु परे पनि प्रजातन्त्रको संस्थागत विकास हुन नसक्दा नेपाली जनताले अभाव र गरिबी भोग्नुपरेको उल्लेख गर्नुभएको छ । उहाँले यही कारणले अब सुख, शान्ति र समृद्धिका लागि प्रजातन्त्रको संस्थागत विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।नेपाल चिकित्सक सङ्घले आफूलाई अभिनन्दन गर्न राजधानीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपति डा. यादव उक्त संघको सदस्य हुनुहुन्छ । यादवले जुनसुकै जातजाति, धर्म, वर्ण, हिमाल, पहाड र तराइको भए पनि राष्ट्रिय एकताका लागि एकजुट हुनु आवश्यक रहेकामा जोड दिनुभयो ।राष्ट्रपति यादवले नेपाली जनता राष्ट्रिय एकता, अखण्डता, दिगो शान्ति, समृद्धिको पक्षमा रहेको चर्चा गर्दै जनताको यो चाहना पूरा गर्न सबै मिलेर जानुपर्ने बताउनुभयो । उहाँले नयाँ संविधान समयमा नै बनोस् त्यो संविधान लोकतान्त्रिक होस् भन्ने पक्षमा जनता छन् भन्दै जनताको यो महान इच्छालाई हामी सबै मिलेर पूरा गरौँ भन्नुभयो । राष्ट्रपति यादवले यतिखेर नेपाली जनता इतिहासको अत्यन्त महत्वपूर्ण मोडमा रहेको दुइ महान राष्ट्रको बीचको हाम्रो नेपाललाई समृद्धि बनाउनुपर्ने जिम्मेवारी हाम्रो काँधमा आएको बताउनुभयो । राष्ट्रपति यादवलाई चिकित्सक सङ्घका अध्यक्ष डा. चोपलाल भुसाल र महासचिव डा. केदारनरसिंह केसीले अभिनन्दनपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

No comments: