News

Sep 10, 2008

कतारले नेपाललाई पेट्रोलियम दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको अवस्थामा पेट्रोलियम पदार्थ आपूर्तिका लागि नेपालले खाडी राष्ट्र कतारलाई राखेको प्रस्तावमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । नेपालका राजदूत डा. सूर्यनाथ मिश्रले गत बुधबार कतारका उपप्रधानमन्त्री एवं उर्जा तथा उद्योगमन्त्री अब्दुल्लाह बिन हमाद अलअतियासँगको भेटमा राखेको प्रस्तावमा अलअतियाले डिजेलबाहेक पेट्रोलियम पदार्थ नेपालमा निर्यात गर्न सकिने बताएका छन् । राजदूत मिश्रसँगको भेटमा उपप्रधानमन्त्री अलअतियाले नेपाल सरकारको प्रस्तावलाई 'सकारात्मक र विचारयोग्य' भन्दै सम्भावना व्यक्त गरेको कुरा नेपाली राजदूतावास कतारले जनाएको छ । प्रमुख तेल उत्पादक राष्ट्र मध्येको कतारले डिजेल भने उत्पादन नगर्ने भएकाले यसबाहेक पेट्रोल, ग्यास, मट्टीतेलको सम्भावना रहेको उपप्रधानमन्त्रीले बताएका थिए ।राजदूत मिश्रले उपप्रधानमन्त्रीसँगको भेटपछि गत साता नै कतारको पेट्रोलियम पदार्थ निर्यात गर्ने कतार इन्टरनेसनल पेट्रोलियम मार्केटिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत अली अल हमादीलाई भेटी उक्त विषयमा छलफल गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ । नेपाल सरकारका तर्फबाट कतार सरकारलाई राखिएको उक्त प्रस्तावपछि पेट्रोलियम पदार्थ आर्थिक वर्ष सन् २००९-१० देखि उपलब्ध गराउन सकिने सम्भावना रहेको र यसका लागि आवश्यक पेट्रोलियम पदार्थको अनुपात, गुणस्तर, ढुवानी मिति तथा ढुवानी स्थलसहितको विवरण कतार सरकारलाई बुझाउनुपर्ने कुरा राजदूत मिश्रले जनाएका छन् ।

No comments: