News

Sep 16, 2008

आज नेपाल-भारत संयुक्त वक्तव्य जारी गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतको पाँच दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भएको वार्ता र सहमतिका विषयमा आज
मंगलबार दुवै देशका तर्फबाट संयुक्त विज्ञप्ति जारी गरिने भएको छ । प्रधानमन्त्री दाहालले सोमबार साँझ भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसित राजनीतिक भेटघाट गर्नुभएको थियो ।भेटघाटमा भएका छलफलका विषय र छलफलबाट भएका सहमतिका विषयमा मंगलबार दुवै देशका तर्फबाट संयुक्त विज्ञप्ति जारी गरिने भ्रमणमा सहभागी सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षी डा. सिंहसँग नयाँदिल्लीको हैदराबाद भवनमा करिब डेढघण्टा भेटवार्ता गर्नुभएको थियो ।दुइ देशका प्रधानमन्त्रीबीच मात्र भएको राजनीतिक भेटघाटमा प्रधानमन्त्री दाहालले नेपालतर्फका कार्यसूचीहरु राख्नुभएको बताइएको छ । छलफल अत्यन्तै सकारात्मक भएको, छलफलमा सबै विषयवस्तु उठेको र दुइ देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको पनि मन्त्री महराले बताउनुभयो ।यसैबीच, प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच विद्यमान परम्परागत सहयोगात्मक सम्बन्धलाई ठूलो मान्यता दिँदै अब समयको यथार्थसँग मिल्दो हुनेगरी र हाम्रा जनताका फराकिला आशा र भावनालाई ध्यानमा राखी हाम्रो सम्बन्धमा नयाँ आयाम र दृष्टिकोण दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आफू र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा भारतीय प्रधानमन्त्री डा मनमोहन सिँहले आयोजना गर्नुभएको रात्रिभोजका अवसरमा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई आपसी लाभदायक र बढी ठोसपूर्ण ढंगमा आगाडि बढाउन दूरदृष्टिमूलक सोचाइ र दृष्टिकोणको आवश्यकता पनि जोड दिनुभयो ।

No comments: