News

Sep 16, 2008

आफ्नो पार्टीले युथफोर्स गठन गरेको - माधवकुमार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले सत्तामा पुगेपछि पनि अराजक गतिविधि जारी राखेका कारण त्यसलाई नियन्त्रण गर्न आफ्नो पार्टीले युथफोर्स गठन गरेको एमालेका पूर्व महासचिव माधवकुमार नेपालले बताएका छन् ।
एमाले स्थायी समिति सदस्य तथा पूर्व महासचिव माधवकुमार नेपालले सत्ताको बागडोर सम्हालेकै दलले अराजकता मच्चाउन थालेकाले त्यसलाई नियन्त्रण गर्न युथ फोर्स गठन गर्नुपरेको बताएका छन् । राजधानीमा भदौ ३१ गते एमालेसम्बद्ध अनेरास्ववियूले गरेको 'उच्च शिक्षा र बिद्यार्थी संगठन' बिषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपालले सरकारका मन्त्रीले नै कानुन हातमा लिनथालेपछि युवा बिद्यार्थीहरुले पनि आफ्नो कर्तब्य निर्वाह गर्नुपर्ने उल्लेख गरे । भदौ ३० गते भूमिसुधार मन्त्री तथा माओवादी नेता मात्रृका यादवले सिराहामा छापामारलाई हतियारसहित अघि लगाएर ब्यक्तिगत जमिन कब्जा गरेको घटनाप्रति नेपालको संकेत थियो ।
माओवादीको ब्यवहारप्रति संकेत गर्दै एमाले नेता नेपालले सत्तामा आएपछि पनि युद्धको धङधङी छ भनेर अराजक क्रियाकलाप कसैले गर्न नपाउने बताए । वर्तमान सरकार परिवर्तनको संवाहक बन्ने कि नबन्नेमा आशंका रहेको उल्लेख गर्दै नेपालले एमाले सरकारलाई परिवर्तनको संवाहक बनाउन लागेको दावी गरे । नयाँ सरकारले शिक्षालाई आँखा चिम्लेख नाफामुखी बनाउन नहुने पनि नेपालको भनाइ थियो ।

No comments: