News

Sep 12, 2008

प्रचण्डको अनुपस्थितिमा पार्टी सचिवालयको बैठक बोलाउने जिम्मेवारी किरणलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीभित्रको कडा धारको नेता मानिने मोहन बैद्य किरणले पार्टी अध्यक्ष प्रचण्डको अनुपस्थितिमा पार्टी सचिवालयको बैठक बोलाउने जिम्मेवारी पाएका छन् । माओवादी सचिवालयको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनुपस्थितिमा सचिवालय बैठक बोलाउने जिम्मेवारी पार्टीका वरिष्ठ नेता मोहन बैद्य किरणलाई दिएको छ । भदौ २७ गते प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले किरणलाई थप पदीय जिम्मेवारी भने नदिएको बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि किरणलाई कार्यबाहक अध्यक्ष बनाउने समाचार संचारमाध्यममा आएको थियो । तर, अहिले पाएको जिम्मेवारीले किरणलाई कार्यबाहक अध्यक्षको नजिक पुर्‍याएको मानिएको छ ।
माओवादी सचिवालयको बैठकले माओवादी जनमुक्ति सेना हेर्ने जिम्मेवारी नन्दकिशोर पुन पासाङलाई दिएको छ । पासाङलाई पनि बैठकले पदीय हैसियत नथपेको महराले जानकारी दिए । पासाङ जनमुक्ति सेनाको चार डेपुटी कमाण्डरमध्ये एक थिए । वर्षामान पुन अनन्त र जनार्दन शर्मा प्रभाकरले राजनीतिक कारण डेपुटी कमाण्डर छाडेपछि पासाङ र चन्द्र खनाल बलदेव डेपुटी कमाण्डर बाँकि छन् । माओवादीको आजको बैठकले संसदीय मामिला प्रमुखमा सचिवालय सदस्य पोष्टबहादुर बोगटी दिवाकरलाई चयन गरेको छ ।

No comments: