News

Sep 6, 2008

सुनसरीका सहित मृत्यु हुने विस्थापितको संख्या १९

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसीको बाढीले विस्थापित भइ सप्तरीतर्फका शिविरमा बसेकामध्ये हालसम्म आठजनाको मृत्यु भइसकेको छ । शिविरमा बसेकी सुनसरीको हरिपुरकी २६ वर्षीया कसिरा खातुनको शुक्रबार राति मृत्यु भएपछि मर्नेको संख्या आठ पुगेको हो । सुनसरीका सहित मृत्यु हुने विस्थापितको संख्या १९ पुगेको छ ।उता, सुनसरीतर्फका शिविरमा बसेकामध्ये हालसम्म एक दर्जनको मृत्यु भइसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । झाडापखाला, निमोनिया जस्ता समस्याका कारण उनीहरुको मृत्यु भएको हो । शिविरमा आश्रय लिएका सयौं विस्थापितहरु अझै पनि बिरामी रहेका छन् । सामान्य अवस्थाकालाई स्वास्थ्यकर्मीको टोलीले शिविरमै उपचार गरिरहेको छ भने गम्भीर बिरामीलाई अस्पतालहरुमा लगेर उपचार गरिएको छ ।यसैबीच, बाढीसँगै आएको सर्पको टोकाइले सप्तरीको फत्तेपुरमा दुइजनाको मृत्यु भएको छ । बिषालु सर्पको टोकाइले गम्भीर भएका फत्तेपुर-१ की २४ बर्षीया गोमा चौघरी र वडा ३ का ६५ बर्षीय झमबहादुर थापा मगरको उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।गत भदौ २ गते सप्तकोसीको तटबन्ध भत्कँदा कोसी नदीको धार सुनसरीका गाउँतिर सोझिएको थियो । त्यसक्रममा चार गाविस पूरै प्रभावित भएका थिए भने अन्य गाउँमा पनि प्रभाव परेको थियो । ती गाउँका हजारौं बासिन्दा विस्थापित भएका छन् । विस्थापितहरुलाई सुनसरी र सप्तरीका विभिन्न स्थानमा शिविर खडा गरी राखिएको छ ।

No comments: