News

Sep 17, 2008

१९५० को सन्धिलाई नयाँ सहमतिका साथ प्रतिस्थापन गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि तथा अन्य विभिन्न समयमा भएका सन्धि सम्झौताहरु पुरावलोकन गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा भारतीय समकक्षी डा. मनमोहन सिंह लगायत उच्च अधिकारीहरुसँग भेटवार्तापछि यस्तो जानकारी दिनुभएको हो । १९५० को सन्धिलाई नयाँ सहमतिका साथ प्रतिस्थापन गरिने अनि अरु विवादास्पद सन्धि सम्झौताहरु पनि पुनरावलोकन अनि संशोधन गर्नका लागि भारत सरकार तयार रहेको प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभएको छ ।सन्धि सम्झौताहरु संशोधन र पुनरावलोकन गर्नका निमित्त दुवै देशका अधिकारीको सहभागितामा कार्यदल बनाएर काम थाल्ने सहमति समेत गरिएको छ । सन्धि सम्झौताहरु पुनरावलोकन गर्द भारतीय पक्ष सकारात्मक भएको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री सिंह, कांग्रेस आइकी नेतृ सोनिया गान्धी, विदेशमन्त्री प्रणव मुखर्जी लगायतसँग भेटवार्ता गरेपछि यस्तो प्रतिक्रिया दिनुभएको हो ।प्रधानमन्त्री प्रचण्ड तीन दिनअघि पाँच दिने भ्रमणका लागि नयाँ दिल्ली जानुभएको हो । उहाँले उच्च राजनीतिक भेटघाट गरिसक्नुभएको छ । औपचारिक भेटघाटका कार्यक्रम मंगलबार सकिए पनि अनौपचारिक भेटघाट जारी रहेको जनाइएको छ । भारतमा रहेका प्रवासी नेपालीको संस्थाका प्रतिनिधिसँग पनि भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसैगरी भारतीय कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि उहाँले भेट गर्नुहुने भएको छ ।

No comments: