News

Sep 16, 2008

व्रिद्रोही प्रहरीहरूले आममाफी दिएर पुनर्बहाली गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरी संगठनभित्र व्रिद्रोह गरेको आरोपमा थुनामा रहेका प्रहरीहरूले आफूहरूलाई आममाफी दिएर पुनर्बहाली गर्न माग गरेका छन्। तुलसीपुर कारागारमा रहेका व्रिद्रोही प्रहरीहरूले सोमबार पत्रकार सम्मेलन आयोजना गरी प्रहरी संगठनभित्र सुधार ल्याउन आफूहरूले आन्दोलन गरेको पनि दोहोर्याएका छन्। पत्रकार सम्मेलनमा बोल्दै नेपालगन्ज प्रहरी व्रिद्रोहका अगुवा प्रहरी नायब निरीक्षक धनबहादुर विकले आफूहरूले देश र सत्ता ढलाउन नभएर प्रहरी संगठनभित्र रहेको व्यापक भ्रष्टाचार र शोषण दमनका विरुद्ध आन्दोलन गरेकाले आफूहरूलाई पुनर्बहाली गर्नुपर्ने बताउनुभयो। बाँकेको शमशेरगन्ज, गोरखा र पर्वतमा प्रहरी संगठनभित्र आन्दोलन गर्नेहरूलाई स्याबासी दिएर आफूहरूलाई आन्दोलनका लागि उत्प्रेरणा प्रदान गर्ने सरकार पनि दोषी भएको विकको भनाइ छ। आन्दोलन गर्न उकास्ने दंगा नियन्त्रण गण नेपालगन्जका गणपति अस्कर अलिलाई कारबाही नगर्ने तर आन्दोलनमा सहभागी नभएका प्रहरीहरूसमेतलाई पूवाग्रहीढंगले कारबाही गर्ने यसअघिको सरकारको गलत निर्णय नयाँ सरकारले सच्याउनेछ भन्नेमा पनि आफूहरू विश्वस्त रहेको थुनामा रहेका अर्का प्रहरी नायब निरीक्षक गणेश दुराको भनाइ छ। आन्दोलनमा २ सय ३५ जना प्रहरी सहभागी भए पनि ४५ जनालाई मात्र कारबाही गरिएको भन्दै थुनामा रहेका अन्य प्रहरी जवानहरूले पनि गुनासो गरे।देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि प्रहरी संगठनभित्र लोकतान्त्रीकरणको विकास हुन नसक्दा शान्तिपूर्ण आन्दोलन गर्दा पनि यति ठूलो सजाय भोग्नुपरेको भन्दै व्रिद्रोही प्रहरीहरूले प्रहरी ऐन २०१२ खारेज गरी तत्काल गणतान्त्रिक प्रहरी ऐन निर्माण गर्न पनि माग गरेका छन्।

No comments: