News

Sep 5, 2008

वर्तमान सरकार गिराउन खोजिए मुलुक नै असफल हुने चेतावनी - प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणका साथ दिगो शान्ति र समृद्ध नेपालका पक्षमा केन्द्रित वर्तमान सरकार गिराउन खोजिए मुलुक नै असफल हुने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालको नेतृत्वमा शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका सञ्चारकर्मीमाझ प्रधानमन्त्रीले अहिले सरकारलाई असफल तुल्याउने तथा हटाउनेसम्बन्धमा केही व्यक्ति जुट्न थालेको कुरा सार्वजनिक भएकोप्रति चिन्ता व्यक्त गर्दै निहित स्वार्थका नाममा मुलुकप्रति खेलबाड नगर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।क्लबद्वारा सोही अवसरमा प्रस्तुत आठ सूत्रीय मागलाई गम्भीरताका साथ लिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल निर्माण अभियानमा सक्दो साथ दिन सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । आफ्नो पार्टी र सरकारको उद्देश्य पूरा गर्न सञ्चारकर्मीको सहयोग अपरिहार्य रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गर्नासाथको आफ्नो प्रतिबद्धता र सञ्चारकर्मीहरूको मागअनुसार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री निवास, बालुवाटारमा मिडिया सेन्टर स्थापना गर्ने कार्य अघि बढिसकेको जानकारी दिनुभयो ।उक्त अवसरमा क्लबका अध्यक्ष ऋषि धमलाले अब बन्ने संविधानमा प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरिनुपर्नेमा जोड दिनुभयो । क्लबले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय प्रेस क्लबका रूपमा क्रियाशील रिपोर्टर्स क्लबको भवन निर्माण तथा पुरस्कार राशिमा सहयोग पुर्‍याउन बर्सेनि १० लाख रुपैयाँ उपलब्ध गर्राई दिन र कुपण्डोलस्थित शान्तिपार्क एवं ललितपुर उपमहानगरपालिका, वडा १ कार्यालयसँगैको स्थानमा भवन निर्माणका लागि जग्गा उपलब्ध गराइ दिन पनि आग्रह गरेको थियो । टोलीमा उपत्यकाका विभिन्न विद्युतीय तथा छापा सञ्चारमाध्यमका गरी करिब ३५ जना सञ्चारकर्मीको सहभागिता थियो ।

No comments: