News

Sep 4, 2008

सरकारले बाढीपीडितका लागि विशेष कार्यक्रम ल्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाढीपीडितका लागि विशेष कार्यक्रम ल्याउने लगायत महत्वपूर्ण विषयमा छलफल गर्नका लागि विस्तारित मन्त्रिपरिषदको वैठक आज बिहीबार बस्दैछ । सिंहदरबारस्थित मन्त्रिपरिषद कार्यालयमा बस्ने वैठकले कोसी कटानबाट विस्थापित सुनसरीका बासिन्दाका लागि तत्काल राहत र जीवनयापनका कार्यक्रम, क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माण लगायत सम्बन्धमा विशेष कार्यक्रम ल्याउनेबारे छलफल गर्ने कानुन मन्त्री देव गुरुङले सञ्चारकर्मीलाई जानकारी दिनुभएको छ ।सरकारले विस्थापितका लागि विशेष कार्यक्रम सहज रुपमा सञ्चालन गर्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका सहित नौवटा गाउँ विकास समितिहरुलाई आगामी १० महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी समेत गरेको बुझिएको छ । मन्त्रिपरिषद वैठकमा आगामी असोज १ गते कार्यकाल सकिने नेपाल प्रहरीका महानिरीक्षक ओमविक्रम राणासहित ११ जना उच्च अधिकृतको कार्यावधि थप गर्ने, नगर्नेबारे पनि छलफल हुने बताइएको छ ।यसैगरी वैठकमा लामो समयदेखि प्रभावित पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्ने सम्बन्धमा पनि छलफल हुने जनाइएको छ । आपूर्ति मन्त्री राजेन्द्र महतोले मन्त्रिपरिषदको आजको वैठकमा त्यसबारे प्रस्ताव लैजाने बताउनुभएको छ । यसैगरी आगामी साता ल्याउन लागिएको बजेटका सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।

No comments: