News

Sep 15, 2008

प्रहरी महानिरीक्षकमा हेमबहादुर गुरुङ नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक हेमबहादुर गुरुङलाई आइतबार प्रहरी महानिरीक्षकमा बढुवा गरेको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बैठकले तीन वर्षसेवा पुगेका प्रहरी महानिरीक्षक ओमविक्रम राणासहित ११ वरिष्ठ अधिकृतलाई आइतबार नै अनिवार्य अवकाश दिने निर्णय गरेको छ।नवनियुक्त महानिरीक्षक गुरुङको ३० वर्षो सेवा अवधि आउँदो फागुन मसान्तमा सकिँदै छ।सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेका दीपेन्द्र विष्ट र रमेश श्रेष्ठको पनि फागुन मसान्तबाटै सेवा अवधि पूरा हुँदै छ। बढुवामा परेका रमेशचन्द ठकुरी र रवीन्द्रप्रताप शाह मात्रै एआईजी हुनुहुने भएको छ।सरकारले दुइवर्षो सेवा अवधि थप नगरेपछि प्रहरी महानिरीक्षक राणा, प्रहरी अतिरिक्त महानिरीक्षक केशवप्रसाद बराल, अमरसिंह शाह, रूपसागर मोक्तान, कृष्ण बस्नेत र दीपकसिंह थाङ्देन असोज १ गतेदेखि अनिवार्य अवकाशमा पर्नुभएको हो।त्यसै गरी प्रहरी नायब महानिरीक्षक नीरज पुन, सुरेन्द्रबहादुर पाल, केबी राना, दीपक श्रेष्ठ र देवीलाल तामाङले पनि सरकारको पछिल्लो निर्णय नुसार अनिवार्य अवकाश पाउनुहुनेछ।अवकाश पाउने सूचीमा पर्नुभएका प्रहरी महानिरीक्षक राणासहित ११ वरिष्ठ प्रहरी अधिकृतको म्याद थप गर्ने नगर्ने विषयमा नेकपा (माओवादी) र नेकपा -एमाले) बीच तीव्र विवाद भएपछि सरकारले ३० वर्षो सेवा अवधि पुगेकालाई म्याद थप नगर्ने निर्णय गरेको हो।प्रहरी संगठनमा वरिष्ठ एआईजीको रूपमा रहनुभएका श्यामसिंह थापा पनि फागुनपछि अनिवार्य अवकाशमा पर्नुहुने भएको छ। सरकारले आईजीपी र एआईजीपीमा बढुवा गरे पनि डीआईजीहरूको नौवटा पद खाली भएको छ। सरकारले प्रहरी संगठनभित्र सेवा अवधि ३० वर्षकायम गर्ने रणनीति लिएपछि आगामी ६ महिनाभित्र प्रहरी जवानदेखि प्रहरी महानिरीक्षकसम्ममा ठूलो संख्याले अनिवार्य अवकाश पाउने भएका छन्।

No comments: