News

Sep 12, 2008

भारत भ्रमणका क्रममा कुनै सन्धि सम्झौता नगर्ने - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले निकट भविष्यमा गर्न लागेको दक्षिणी छिमेकी मुलुक भारत भ्रमणका क्रममा कुनै सन्धि सम्झौता नगर्ने बताउनुभएको छ । भारत भ्रमणका सम्बन्धमा विभिन्न दलसँग परामर्श गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । आफ्नो भारत भ्रमण कुनै सन्धि, सम्झौता गर्नका लागि नभइ सद्भाव भ्रमण मात्र भएको भनाइ प्रधानमन्त्रीको थियो । भारत भ्रमणका सिलसिलामा छलफल गर्न आफ्नै कार्यक्षमा १० प्रमुख राजनीतिक दलसँग प्रधानमन्त्रीले परामर्श बैठक आयोजना गर्नुभएको थियो ।प्रधानमन्त्री दाहालले भ्रमणको उद्देश्यबारे प्रकाश पार्दै यसलाई दुइ मुलुकबीचका सम्बन्धलाई अझ सबल र सुदृढ बनाई थप उचाइमा पुर्‍याउन उपयोगी हुने सुझाव र सल्लाह प्रदान गर्न राजनीतिक दलका प्रतिनिधिहरूलाई आहृवान गर्नुभएको थियो ।परामर्श बैठकमा नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, मधेसी जनअधिकार फोरम, तराइ मधेस लोकतान्त्रिक पार्टी, नेकपा माले, सद्भावना पार्टी, जनमोर्चा नेपाल, राष्ट्रिय जनमोर्चालगायत दलका तर्फबाट वरिष्ठ नेताहरूले राय-सुझाव दिएका थिए ।सबै दलका तर्फबाट आसन्न भ्रमण छिमेकी मित्रराष्ट्र भारतसँग सद्भावना अभिवृद्धि गर्ने भ्रमणका रूपमा सम्पन्न गर्न उपयुक्त हुने धारणा राखिएको थियो । बैठकमा परराष्ट्रमन्त्री उपेन्द्र यादव तथा रक्षामन्त्री रामबहादुर थापा 'बादल' पनि उपस्थित हुनुहुन्थ्यो ।प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहको निमन्त्रणामा भदौ २९ देखि असोज २ गतेसम्म भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । गत वर्ष चैतमा भएको संविधानसभा निर्वाचनपछि निर्वाचित नेपालका प्रधानमन्त्रीको यो पहिलो भ्रमण हुने भएकाले यसको विशेष महत्व रहनेछ ।भ्रमणको उद्देश्य द्विपक्षीय सम्बन्धलाई सुदृढीकरण र विस्तार गरी नयाँ उचाइमा पुर्‍याउनु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमणले आपसी विश्वास, सद्भावना र समझदारीलाई वृद्धि गर्ने तथा आपसी लाभदायी सहयोगलाई प्रबर्द्धन गर्ने विश्वास लिइएको छ । प्रधानमन्त्री प्रचण्डका साथमा परराष्ट्रमन्त्री उपेन्द्र यादव, सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, जलस्रोतमन्त्री विष्णु पौडेल र वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो पनि रहने जनाइएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग छुट्टै भेट गनुहुनेछ ।

No comments: