News

Sep 11, 2008

सरकारको ९० बुँदे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी नेतृत्वको गठबन्धन सरकारले आफ्नो नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ । गणतान्त्रिक नेपालको पहिलो सरकारद्वारा प्रस्तुत नीति तथा
कार्यक्रममा अग्रगामी सामाजिक, आर्थिक रुपान्तरण र निर्धारित समयमा संविधान निर्माण गर्ने प्रतिवद्धता व्यक्ति गरिएको छ । गठबन्धनकारी तीन दलहरुबीच सहमति भएपछि नीति तथा कार्यक्रम ९० बुँदामा लामो तयार पारिएको थियो । संसदको बुधबारको विशेष वैठकमा राष्ट्रपति डा. रामवरण यादवले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । पहिले तत्कालीन राजाले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने चलन थियो । जननिर्वाचित राष्ट्रपतिका रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको यो पहिलोपटक हो ।नीति तथा कार्यक्रममा तोकिएको समयमा नयाँ संविधान बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ । यसैगरी आगामी दशकलाई आर्थिक क्रान्तिको दशक मानिएको छ भने कर्चारीको तलब सुविधा तथा वृद्ध, अपांग र विधवाभत्ता बढाइने भनिएको छ । यसैगरी दुइ वर्षभित्र सबैलाई साक्षर, जिल्ला सदरमुकामहरुमा सडक पुर्‍याउने भनिएको छ । वैज्ञानिक भूमिसुधार र जमिनमा जोताहाको अधिकार स्थापना गरिने नीति तथा कार्यक्रममा प्रतिवद्धता जनाइएको छ ।यसैगरी द्वन्द्व र प्रकोपपीडितको ऋण मिनाहा गरिने जनाइएको छ भने स्थानीय निकाय सहमतिमा निर्माण गरिने भनिएको छ । आगामी दशकभित्र १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष राखिएको छ भने अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइनको व्यवस्था गरिने जनाइएको छ । यस्तै जनकपुर-जयनगर रेल बर्दिवाससम्म विस्तारको लक्ष राखिएको छ । भारतसँग भएका विभिन्न असमान सन्धि र सम्झौता पुनरावलोकन गर्ने समेत प्रतिवद्धता जनाइएको छ । विकेन्द्रित न्याय प्रणाली अपनाइनेप्रति पनि प्रतिवद्धता जनाइएको सरकारको नीति तथा कार्यक्रम निकै महत्वकांक्षी रहेको छ ।

No comments: