News

Jun 1, 2008

राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने प्रचण्डको भनाइ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने प्रचण्डको भनाइको आलोचना भइरहेको बेला माओवादीका वरिष्ठ नेता रामबहादुर थापा बादलले पनि प्रचण्डकै भनाइ दोहोर्‍याएका छन् । माओवादी सचिवालय सदस्य रामबहादुर थापा बादलले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र राष्ट्रप्रमुख दुवै भए जस्तै अब पनि एउटै ब्यक्तिलाई दुवै अधिकार दिनुपर्ने बताएका छन् । राजधानीमा जेठ १९ गते आयोजित एउटा अन्तरक्रिया कार्यक्रममा बोल्दै बादलले संक्रमणकालमा शक्ति पृथकिकरण गर्दा अन्यौल बढ्ने भएकाले दुवै पद एउटैलाई दिनुपर्ने तर्क गरे । बादलले जनमत माओवादीको पक्षमा देखिएकाले राष्ट्र र सरकारको नेतृत्व माओवादीले नै गर्नुपर्ने पनि कार्यक्रममा उल्लेख गरे ।माओवादीको नेतृत्वमा सरकार बन्नासाथ नेपाली सेना र माओवादी जनमुक्ति सेनाबीच समायोजन हुने भएकाले दुवै सेनाको प्रमुख एउटै हुन मिल्दैन भन्ने बिबाद बाँकि नरहने पनि बादलले दावी गरे । आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले जनगणतन्त्र ल्याउछौं भन्नु अन्य दलले जनमतको अर्थ बुझुन् भन्ने आशय मात्र भएको पनि बादलले बताए । 'एमालेले बहुदलीय जनवाद भने जस्तै जनगणतन्त्र हाम्रो कार्यदिशा मात्र हो, अहिले नै ल्याउने भनिएको होइन' बादलको स्पष्टोक्ति थियो । कार्यक्रममा बादलले संविधानसभाको दोश्रो बैठक जेठ २३ गते हुनुअघि नै राष्ट्रपतिको अधिकार, सरकार गठनलगायत बिषयमा राजनीतिक सहमति हुनुपर्ने बताए । अन्तरक्रियाका अर्का वक्ता एमाले केन्द्रीय सदस्य शंकर पोखरेलले सरकार गठन गर्ने स्थितिमा पुगेको माओवादीले चुनावअघि जस्तो बिद्रोही ब्यवहार गर्न नहुने तथा सहमतिको राजनीतिलाई अघि बढाउनुपर्ने बताए । राष्ट्रपति र प्रधानमन्त्री एउटै ब्यक्तिलाई बनाउन ठिक नहुने पनि कार्यक्रममा पोखरेलले उल्लेख गरे । सरकार गठनका लागि दुई तिहाई चाहिने प्रावधान नफेर्ने हो भने माओवादीले दुई तिहाई पुर्‍याउनुपर्ने नभए, सामान्य बहुमतबाट सरकार गठन गर्न सकिने प्रावधान अन्तरिम संविधानमा राख्न माओवादी तयार हुनुपर्ने पनि पोखरेलले बताए । 'सरकारका लागि एमालेका कुनै शर्त छैनन्, शर्त राख्ने भए चुनावलगत्तै हामी सरकार नै छाड्ने थिएनौं' पोखरेलले भने । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले गिरिजाप्रसाद कोइराला सत्ताबाट हट्दा राजनीतिक शून्यता आउला तथा राजनीतिमा फोहोरी खेल सुरु होला भनेर कोइरालालाई नै राष्ट्रपति बनाउने अडान आफ्नो पार्टीले राखेको बताए । राजनीतिक सहमतिका लागि लेनदेन हुनु स्वभाविक भएको पनि कार्यक्रममा खड्काले उल्लेख गरे ।

No comments: