News

Jun 18, 2008

ज्ञानेन्द्रकी छोरीको बीस करोड सरकारी खातामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
६ महिनासम्मको प्रयासपछि पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डपश्चात् आफ्नी छोरी प्रेरणाका नाममा नामसारी गरेको २० करोड २० लाख रुपैयाँ बराबरको शेयर नेपाल सरकारद्वारा स्थापित 'नेपाल ट्रस्टमा' सारिएको समाचार छ । प्राप्त समाचारअनुसार नविल बैंकमा रहेको ४० हजार नौ सय ५० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार सात सय ५० कित्ता शेयर नेपाल ट्रस्टका नाममा नामसारी गरिएको बताइएको छ । उक्त शेयरमध्ये नविलको २० करोड तथा निगमको २० लाख रुपैयाँ मूल्य रहेको छ । प्रेरणाको नाममा नामसारी गर्नुअघि स्वर्गीय राजा वीरेन्द्रका छोराद्वय दीपेन्द्र र निराजनका नाममा रहेको थियो ।
यसअघि ट्रस्टले विभिन्न स्थानमा वीरेन्द्र र उनका परिवारको नाममा रहेको आठ सय ४० रोपनी जग्गासमेत आफ्नो नाममा नामसारी गरेको छ । उता, एक साताअघि नारायणहिटीबाट बाहिरिएका
पूर्व राजा ज्ञानेन्द्रले मंगलबारदेखि आफ्नो कार्यालय सञ्चालनमा ल्याएका छन् । नागार्जुनमा गएपछि त्यत्तिकै अल्मलिरहेका पूर्वराजा ज्ञानेन्द्र आफ्ना आजीवन पदाधिकारी शारदाप्रसाद प्रधानसँगै गई नागार्जुनको शिशिरवासमा कार्यालय सञ्चालन गरेको र हिजैदेखि उनले काम थालेको बताइएको छ ।
पूर्वराजा ज्ञानेन्द्र कार्यालय सञ्चालन र काम थालनी गरेको बताए पनि उनले कुन प्रयोजनका निम्ति कार्यालय स्थापना गरेका हुन् खुल्न सकेको छैन । यता, नारायणहिटीमा नै बसेकी पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्नराज्यले पनि नारायणहिटीमा नै कार्यालय स्थापनाको तयारी गरिरहेको बुझिएको छ ।

No comments: