News

Jun 11, 2008

पूर्वराजा ज्ञानेन्द्रले पत्रकार पाश्चात नारायणहिटी दरवार छोडे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नारायणहिटी छाडेर नागार्जुन जानुअघि पूर्व राजा ज्ञानेन्द्रले पत्रकारहरुबीच दरवार हत्याकाण्डमा आफ्नो संलग्नता नरहेको र बिदेशमा पैसा नराखेको स्पष्टिकरण दिए भने मुलुकमै बसेर देशको राष्ट्रियता, अखण्डता र शान्तिको पक्षमा सधै लागिरहने बताउदै भविष्यमा राजनीतिमा आउन चाहेको संकेत दिए ।
पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी छाडेर नागार्जुन दरवार जानुअघि बृहत पत्रकार सम्मेलनमार्फत आगामी दिनमा मुलुकमै बसेर मात्रृभूमिको शान्ति र उन्नतीमा योगदान पुर्‍याउन चाहेको बताएका छन् । जेठ २९ गते साढे पाँच बजे नारायणहिटीको काश्की बैठकमा सुरु भएको १५ मिनेट लामो पत्रकार सम्मेलनमा पूर्व राजाले नेपाली जनताको हित र चाहनामा सधै चल्ने राजपरम्परा अनुसार संविधानसभाको परिणाम र जेठ १५ गते संविधानसभा बैठकको निर्णयलाई सहज बनाउन सहयोगी भूमिका निर्वाह गरेको उल्लेख गरे । करिव २०० पत्रकारबीच सम्बोधन गर्दै पूर्व राजाले आफ्ना पूर्वजहरुले कल्पना र निर्माण गरेको मुलुकको स्वतन्त्रता र अखण्डताकालागि जुनसुकै अवस्थामा समर्पित हुने पनि बताए । पत्रकारहरुको प्रश्नको उत्तर नदिइएको पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले २०५८ जेठ १९ गते भएको दरवार हत्याकाण्डमा आफू निर्दोष रहेको र त्यसमा आफूलाई बदनाम गराउने प्रयत्नबिरुद्ध त्यसबेला राष्ट्राध्यक्ष रहेका कारण केही गर्न नसकेको धारणा राखे । लिखित बक्तब्यमा उनले त्यसबेला आफ्नी श्रीमति कोमललाई फोक्सोमा गोली लागेको तथा अहिले पनि गोलीका टुक्रा फोक्सोमै रहेको खुलाए । उक्त दुर्घटनामा आफूलाई बदनाम गराउनुलाई पूर्व राजाले दुर्भावना फैलाउने रणनीति भएको दावी गरे । सम्बोधनको अन्त्यतिर निकै भावुक देखिएका पूर्व राजाले आफूले बिदेशमा सम्पति राखेको प्रचार भएको उल्लेख गर्दै बिदेशमा चल/अचल सम्पति नराखेको स्पष्टिकरण दिए । राजपरिवारका कुनै सदस्यको सम्पतिको हक नखोसेको पनि उनको स्पष्टिकरण थियो । सम्बोधनमा उनले पूर्वजहरुबाट आफूले पाएको सम्पति नमासेको तथा संरक्षण गरेको पनि उल्लेख गरे । अन्य नेपालीले जस्तै आफूले पनि सम्पति राख्न पाउने हक पाउने पनि पूर्व राजा ज्ञानेन्द्रले सम्बोधनमा आशा ब्यक्त गरे । सम्बोधनको अन्त्यमा पूर्व राजाले परम्परागत शाह बंशीयको बिरासत श्रीपेच र राजदण्ड सुरक्षित राख्नेगरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको पनि उल्लेख गरे । करिब ८० जना अटने हलमा कोचिएर बसेका पत्रकारहरुको होहल्लाबीच पूर्व राजाले आफ्नो शाषनकालको ७ वर्षमा सहयोग गर्ने सबै क्षेत्रलाई धन्यबाद दिए ।

No comments: