News

Jun 21, 2008

नरेश सुनुवारको काव्यकृति काठमाडौंमा अन्तरविमर्श

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमान्डौं, २० जुन/ बागबजारस्थित होटल अशोकामा सृजनशील साहित्य समाज हङकङद्वारा प्रकाशित हङकङेली नेपाली कवि नरेश सुनुवारको प्रथम काव्यकृति 'जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेले'को अन्तरविमर्श कार्यक्रम शब्दशताब्दी नेपाल र सृसास हङकङको संयुक्त आयोजनामा सम्पन्न भएको छ । अन्तरविमर्शको सप्पैभन्दा नौलो प्रयोग के थियो भने सृसासका अध्यक्ष तथा सृजनशील अराजक कवि हाङयुग अज्ञात र काव्यकार नरेश सुनुवारले हङकङबाटै आ-आफ्ना मन्तव्य टेलिफोनमार्फ कार्यक्रमकक्षमा प्रत्यक्ष रुपमा दिएका थिए । विभिन्न नयाँ प्रयोगहरु गर्दै अगाडि बढिरहेको सृसास हङकङले कवि नरेश सुनुवारको काव्यकृतिलाई भिसिडिमा पनि प्रकाशन गरेको छ ।
अन्तरविमर्श कार्यक्रममा डा. गोविन्दराज भट्टर्राई, निनु चापाँगाई, श्रवण मुकारुङ, मोमिला, पूर्ण इन्फादा र युवराज बरालले काव्यकृतिमाथि आ-आफ्ना विचारहरु व्यक्त गरेका थिए । समग्र डायोस्पोरिक कविहरुमा हङकङका कवि नरेश सुनुवारलाई नयाँ प्रयोग, उत्तरआधुनिक सोच र बौद्घकिताको प्रतिनिधि मान्दा फरक नपर्ने कुरा अधिकांश वक्ताहरुले प्रकट गरेका थिए । साँस्कृतिक चेतना र नस्लीयबोध कवि नरेश सुनुवारको मौलिक प्राप्ति भएको र यही तत्वले उनका कविताहरुलाई नयाँ शैली र शिल्पमा रुपान्तरण गरेको विचार पनि वक्ताहरुले व्यक्त गरेका थिए । सृजनशील साहित्य समाज हङकङले विगत चार वर्षेखि निरन्तर रुपमा नेपाली साहित्यका लागि गरिरहेको कामको लागि पनि उपस्थित कवि तथा लेखकहरुले मन्तव्यका क्रममा प्रशंसा गरेका थिए ।
प्रवासबाट प्रथमपटक प्रत्यक्ष रुपमा फोनबाट मन्तव्य दिदैं कवि अज्ञातले नेपाल-हङकङ साहित्य सम्मेलन गर्ने र वैरागी काइँलाका सम्पूर्ण रचनाहरुलाई एउटै कृतिमा समेट्न 'वैरागी-ब्रम्हाण्ड' नामको महाकृति सृसासले प्रकाशन गर्ने घोषणा गरेका थिए भने अन्तरविमर्श कार्यक्रममा उपस्थित सप्पैलाई धन्यवाद दिदैं कवि सुनुवारले प्रवासको व्यस्त जीवनमा पनि सृजनात्मक काम गरेर नेपाली साहित्यलाई केही दिन सकिन्छ कि भन्ने सोचले आफू निरन्तर रुपमा कविता लेखनमा लागिपरेको कुरा आफ्नो फोन-मन्तव्यको क्रममा व्यक्त गरेका थिए । कवि शशी लुमुम्बुले सञ्चालन गरेको उक्त कार्यक्रमका संयोजक प्रकाश थाम्सुहाङले आमन्त्रित कवि, पत्रकार तथा साहित्यप्रेमीहरुलाई धन्यवाद दिदैं 'जिन्दगीको पहाड र अस्तित्वको राँकुदेले सेक्सेलेले' काव्यकृतिको अन्तरविमर्श कार्यक्रमको विर्सजन गरेका थिए ।

No comments: