News

Jun 27, 2008

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिनुभएको वक्तव्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माननीय सभामुख महोदय,
छ दशक लामो सङ्घर्ष, अनेकौं सपुतहरूको बलिदान तथा सम्पूर्ण नेपाली जनताको देशभक्तिको भावना एवम् उहाँहरूको ठूलो त्याग र तपस्याले आज हाम्रो देशमा सङ्घीय गणतन्त्रात्मक राज्य व्यवस्था र बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको दरिलो जग खडा भएको छ । यही ऐतिहासिक उपलब्धिहरूलाई संस्थागतरूपले अघि बढाएर, त्यसैको मूल आधारमा नयाँ संविधान निर्माण गरी नेपाललाई नयाँ, शान्ति, समुन्नत र समावेशी नेपालमा रूपान्तरण गर्न इतिहासले हामी प्रत्येक नेपालीलाई थप जिम्मेवारी सुम्पेको छ । हाम्रो एकता, पारस्परिक सहयोग, सहमति र सद्भाव तथा आपसी विश्वासबाट नै हामीले यो जिम्मेवारीलाई पूरा गर्न सक्नेछौं ।हाम्रो बलिदानपूर्ण जनआन्दोलनले देशमा लोकतन्त्रको बहाली गर्‍यो र सबै राजनीतिक पार्टीको सहमति र सहकार्यमा अन्तरिम संविधानको तर्जुमा गरेर अघि जाने मार्गप्रशस्त गर्‍यो । त्यसैका आधारमा संविधानसभाको निर्वाचन सुसम्पन्न भएर आज हामी सबैलाई यो गरिमामय सभामा सहभागी हुने अवसर प्राप्त भएको छ । अब सवै क्षेत्र, सवै जाति, सवै वर्ग र समुदायले हातेमालो गरेर आफ्नो देशको संविधान आफैले लेखी देशलाई नयाँ, गतिशील र लोकतान्त्रिक युगमा प्रवेश गराउनुछ ।
सभामुख महोदय,
नेपालको अन्तरिम संविधानको चौथौ संशोधनले राष्ट्रपति र उपराष्ट्रपति रहने व्यवस्था गरिसकेको छ । त्यसैमा राष्ट्रपति र उपराष्ट्रपतिको कर्तव्य र अधिकारको व्यवस्था भइसकेको छ । आजै यो सभासमक्ष सरकारले अन्तरिम संविधानको पाँचौं संशोधन विधेयक पेस गरेको छ । यसले राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी निर्वाचनको व्यवस्था गर्ने छ र शीघ्र नै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।
गत जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकमा नेपालको अन्तरिम संविधानबमोजिम गणतन्त्रको कार्यान्वयनसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा मैले संविधानसभाको निर्वाचनमा सबभन्दा ठूलो राजनीतिक दलका रूपमा देखिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)लाई संवैधानिक प्रावधानअनुरूप सहमति कायम गरी नयाँ सरकार गठन गर्न आहृवान गरेको थिएँ । यो गरिमामय सभामा पुनः आफ्नो आहृवानलाई दोहोर्‍याउँदै संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री पदबाट म राजीनामा दिने घोषणा गर्दछु ।
विगतका अनेक सङ्कट, द्वन्द्व र अशान्तिलाई समाप्त पारेर हामी एउटा महत्वपूर्ण मोडमा आइपुगेका छौं । यद्यपि कतिपय विषय र समस्याहरूको अझै पनि उचित तवरले सम्बोधन हुन सकिरहेको छैन। आपसी एकता र पारस्परिक विश्वासलाई अझ दरिलो पार्दै हामीले सहकार्यको नवीन संस्कृतिको विकास गरी यी सबै समस्याको समाधान गरेर नेपाललाई नयाँ उचाइमा पुर्‍याउन सक्नेछौं । यी सबै कार्यमा मेरो सदैव सहयोग रहिरहनेछ।
आज अवसर र चुनौती दुवै एकसाथ हाम्रो अगाडि आएका छन् । चुनौतीलाई उचित तवरले केलाएर अवसरलाई देश र जनताका हितमा उपयोग गर्नसक्नुपर्छ । सिन्दुर पुछिएका असङ्ख्य महिला दिदीबहिनीहरू, आफ्ना आमा-बाबु गुमाएका बालबालिकाहरू र घरसम्पत्ति गुमाएका विस्थापित परिवारहरू तथा अपाङ्ग जीवन धानिरहेका घाइतेहरूसमेतको मलीन र टीठलाग्दो अनुहारले देशबाट रोग, भोक, गरिबी र अशिक्षाको निराकरण गर्ने दिशामा दत्तचित्त भएर लाग्न हामीलाई अभिप्रेरित गरिरहेका छन्। आफ्नो देशमा काम नपाएर, विदेशी भूमिमा पुगेर आफ्नो सिर्जनशीलतालाई समर्पित गरिरहेका लाखौं युवाको श्रम, सीप र जाँगरलाई हामीले देशको विकास र निर्माणको शक्तिस्रोतमा परिणत गराउन सक्यौं भने देशको राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको सुदृढीकरणमा सबभन्दा ठूलो योगदान हुनेछ ।
हिंसा र द्वन्द्वका घाउहरूलाई मेटाई, शान्तिपूर्ण वातावरण, उदार राजनीतिक मूल्य र मान्यता, विधिको शासन, मानवअधिकारको रक्षा, प्रेस स्वतन्त्रता तथा बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धालाई आत्मसात् गरेर नै लोकतान्त्रिक पद्दतिलाई सर्वग्राहृयरूपमा अघि बढाउन सकिनेछ।
सभामुख महोदय,
अब निर्माण हुने हाम्रो देशको संविधान हाम्रा अमर सहिदहरूको सपना र चाहना एवम् सम्पूर्ण नेपाली जनताको भावना र आकांक्षाको धरोहरका रूपमा स्थापित हुनेछ । हामीले हाम्रा सबै क्षमता र योग्यतालाई अब नयाँ संविधानको निर्माणमा लगाउनुपर्छ । छिटै नयाँ संविधानको निर्माण गरेर अन्योल र अनिश्चयको अन्त्य गरी मुलुकलाई नयाँ र अग्रगामी गति प्रदान गर्न म सबैसँग अपिल गर्दछु।

No comments: