News

Jun 25, 2008

यातायात व्यवसायीको आन्दोलन फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

मध्यरातमा भाडा वृद्धि गर्न सरकार र व्यवसायी सहमत भएपछि पाँच दिनदेखि जारी यातायात व्यवसायीको आन्दोलन फिर्ता भएको छ । मंगलबार रातिसम्म श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा चलेको वार्तामा २८ प्रतिशतले भाडादर वृद्धि गर्ने सहमति भएपछि व्यवसायीद्वारा गरिएका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका हुन् । सरकार र व्यवसायीबीच सहमति भएपछि लामो तथा मध्यम दुरीका यातायातमा २८ प्रतिशत भाडा वृद्धि गर्नुका साथै उपत्यकाभित्र बस, मिनीबस तथा माइक्रोबसमा न्यूनतम् १२ रुपैयाँ र ट्याक्सीमा सुरुमा १० रुपैयाँ तथा त्यसपछि प्रतिकिलोमिटर २३ देखि २४ रुपैयाँ बढाइनेछ ।
तीन दिनदेखि सरकार र व्यवसायीबीच वार्ता भए पनि दुवै पक्षले आ-आफ्नै अडान राखेका कारण सहमतिको टुंगो लाग्न सकेको थिएन । भाडा वृद्धि दुइ महिनाका लागि मात्र भएको तथा त्यसपछि वैज्ञानिक आधारमा भाडा वृद्धि गरिने बताइएको छ ।
यसअघि सरकारले २५ प्रतिशत तथा व्यवसायीले ३५ प्रतिशत भाडा वृद्धि गर्ने अडान राख्दै आएका थिए । भाडा वृद्धि गर्नुपर्ने व्यवसायीको माग तथा सहुलियत बढाउनुपर्ने विद्यार्थीको मागका कारण एक सातादेखि राजधानीलगायत मुलुकका विभिन्न भाग अशान्त बन्दै आएको थियो । सरकारले विद्यार्थी सहुलियत ४५ प्रतिशत बनाएपछि विद्यार्थीले आन्दोलन फिर्ता लिएका छन् । विद्यार्थीले आज उपत्यका तथा १३ गते नेपाल बन्दको आहृवान गरेका थिए । विद्यार्थीको बन्द फिर्ता भए पनि विभिन्न चार दलले भोलि आहृवान गरेको उपत्यका बन्द भने जारी रहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत, तामसालिङ नेपाल राष्ट्रिय दल, नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक तथा नेपाल कम्युनिस्ट संयुक्त माक्सवादीद्वारा विभिन्न ११ सूत्रीय माग राख्दै असार १२ गते उपत्यका बन्दको आहृवान गरेका छन् ।
यसैबीच, भाडा वृद्धि गर्न माग गर्दै यातायात बन्द गरी आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले हिजो बन्दको अवज्ञा गरेको भन्दै मलामी चढेको एक बस भक्तपुरको ठिमीमा तोडफोड गरेका छन् ।
बस तोडफोड गर्न थालेपछि महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरीले बस र मलामी दुवैलाई भगाउन लाग्दा व्यवसायीहरूले ढुंगा हानेपछि व्यवसायी र प्रहरीबीच झडप भएको थियो । झडपमा दुइ प्रहरीसहित आधादर्जन घाइते भएका छन् । झडपपछि व्यवसायीहरूले अन्य ६ वटा यातायातका साधन पनि तोडफोड गरेका छन् ।
यसैबीच हिजो बिहान पोखराको विजयपुर खोलामा पनि यातायात व्यवसायीहरूले पोखराबाट राजधानीतर्फआउँदै गरेका हरियो नम्बर प्लेटका ६ वटा पर्यटक बसमा तोडफोड गरेका छन् । तोडफोडमा बसमा रहेका केही पर्यटकको टाउको र हातमा सामान्य चोट लागी घाइते भएका छन् । घटनापछि नेपाल र्टुस र ट्राभल एसोसिएसन (नाटा) पोखराका अध्यक्ष पशुपति शर्माले पृथ्वी राजमार्ग बस व्यवसायी समितिका कोषाध्यक्ष यनकुमार शाहीको नेतृत्वमा तोडफोड भएको किटानीसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा जाहेरी दिएका छन् । उता, यातायात व्यवसायीहरूले आफूहरूले पर्यटक बसमाथि तोडफोड नगरेको बताएका छन् ।

No comments: