News

Feb 2, 2009

अस्ट्रेलियामा अध्ययन गर्न जाने बाटो साँघुरियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अस्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीका लागि बाटो थप साँघुरिएको छ । नेपाली विद्यार्थीले अध्ययनको भिसा आवेदन गर्दा अस्ट्रेलियाले अब दुईवटा बैंकका कागजातलाई मात्र मान्यता दिने भएको छ । यसअघि करिब दुई दर्जन वाणिज्य बैंकका कागजात स्वीकार्य हुने गरेकोमा सोमबारदेखि दुईवटाको मात्र स्वीकार गरिने नयाँदिल्लीस्थित अस्ट्रेलियन हाइकमिसनले जनाएको छ । दुई 'भाग्यमानी' बैंकमा नबिल र नेपाल एसबिआई छन् । हाइकमिसनको यो निर्णयले शैक्षिक परामर्श व्यवसायी र विद्यार्थी चिन्तित बनेका छन् । अस्ट्रेलिया अहिले सबैभन्दा बढी नेपाली विद्यार्थीको गन्तव्य हो ।हाइकमिसनले दुईवटा बैंकलाई छनोट गरे पनि कुनै आधार भने देखाएको छैन । यसको आधिकारिक वेबसाइटमा भनिएको छ, 'अस्ट्रेलियामा विद्यार्थी भिसाका लागि स्वीकार्य वित्तीय संस्थाहरूको सूची पुनरावलोकनपछि क्यानबरास्थित अध्यागमन तथा नागरिकता प्रधान कार्यालयले सूचीमा परिमार्जन गरेको छ ।'हाइकमिसनले २ फेब्रुअरीसम्म जुनसकै बैंकबाट आएका कागजपत्र पनि स्विकार्ने जनाएको छ । तर, त्यसभन्दा पछि आएका आवेदनमा अन्य बैंकका कागजात संलग्न रहेको खण्डमा विद्यार्थीलाई सूचित गरेर फेरि आवेदन गर्न लगाइने पनि कमिसनले वेबसाइटमा उल्लेख गरेको छ । नेपालमा क वर्गका २४ बैंक छन् । यीमध्ये अधिकांशले विद्यार्थीलाई विदेश अध्ययनका लागि ऋण उपलब्ध गराउँदै आएका थिए ।अस्ट्रेलियाको नयाँ निर्णयले विद्यार्थीलाई अप्ठ्यारो पार्ने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । शैक्षिक परामर्श केन्द्रका महासचिव राजेन्द्र बरालले दुईवटा बैंकलाई मात्र मान्यता दिइँदा नेपाली विद्यार्थीले दुःख पाउने बताए । 'कुनै मापदण्ड तोकेर ९/१० वटा बैंकलाई मान्यता दिएको भए हुन्थ्यो,' उनले भने, 'राजधानीबाहिरका सहरबाट समेत विद्यार्थीले सुविधा लिएका थिए, अब अप्ठ्यारो पर्छ ।' अस्ट्रेलिया जाने प्रत्येक विद्यार्थीले औसत तीस लाख बैंक ऋण लिने गरेका छन् ।

No comments: