News

Feb 2, 2009

नेपाललाई टुक्र्याउन भारत लागिपरेको छ - मोहन वैद्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादीका वरिष्ठ नेता तथा संगठन विभाग प्रमुख मोहन वैद्य किरणले नेपाललाई टुक्र्याउन भारत लागिपरेको बताएका छन् । राजधानीमा आइतबार आयोजित कार्यक्रममा उनले मधेसलाई नेपालबाट अलग्याउने षडयन्त्र भारतले गरिरहेको आरोप लगाए 'खुलेरै भन्छु, भारत नेपाललाई टुक्र्याउने अभियानमा देखिएको छ,' उनले पत्रकारमाझ भने । माओवादीले विगतमा उठाएका जातीय आत्मनिर्णयको अधिकारसम्बन्धी नारालाई सामन्ती तथा औपनिवेशिक शक्तिहरूले देश टुक्र्याउने हतियार बनाएको उनको भनाइ छ । 'हाम्रै नारा उपयोग गरेर मधेसलाई नेपालबाट अलग गर्ने षडयन्त्रमा सामन्ती उपनिवेशवादी र वैदेशिक प्रतिक्रियावादी लागेका छन्,' नेता किरणले भने, 'वैदेशिक प्रतिक्रियावादीका षडयन्त्रलाई असफल पार्न हामी लड्छौं ।' पार्टीले मधेसका मामिलामा बनाएको रणनीति असफल भएको उल्लेख गर्दै उनले मधेस मामिलामा पार्टीले छलफल गरिरएको र अध्यक्ष प्रचण्डले सचिवालयमा त्यससम्बन्धी प्रस्ताव ल्याउने जानकारी दिए ।सेना र सरकारबीच हाल भइरहेको विवादलाई उनले सेनाका केही व्यक्ति र सरकारबीचको विवादका रूपमा चित्रण गरेका थिए । 'पूरै सेनाले सरकारको निर्देशन मान्दिन भनेको छैन, केही व्यक्तिले वक्तव्य निकालेका हुन्, यसलाई उछालेर बाहिरबाट रमाइलो हेर्ने कोसिस भइरहेको छ,' उनले भने । सरकार साझेदार एमाले, फोरम र सद्भावनालाई सरकारमा बसेर प्रतिपक्षको कुरा बोल्ने अपसंस्कृतिको बाहक बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री कि विद्रोही नेता हो बुझ्न नसकेको अभिव्यक्तिलाई भने उनले सही बताएका थिए । 'उहाँले भन्नुभएको ठीक हो, प्रचण्ड प्रधानमन्त्री र विद्रोही नेता दुवै हुनुहुन्छ,' उनको भनाइ थियो । नेता किरणले अहिलेको लोकतन्त्र संसदीय व्यवस्था भएकाले माओवादीले त्यसलाई नमान्ने र जनगणतन्त्रमा जानेसमेत दाबी गरे । 'यो लोकतन्त्रले जनताका समस्याको सम्बोधन गर्न सक्दैन त्यसैले हामी जनगणतन्त्रमा जान्छौं,' उनको भनाइ थियो । जनगणतन्त्रमा दलीय प्रतिस्पर्धा हुने भए पनि सामन्तवाद र साम्राज्यवादको पृष्ठपोषक नेपाली कांग्रेसजस्ता पार्टी नरहने उनले बताए ।

No comments: