News

Feb 8, 2009

अवरुद्ध विद्युत् लाइन सुचारु हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
६ महिनादेखि आपूर्ति बन्द भारतस्थित कटैयाको विद्युत् लाइन फागुनको पहिलो सातादेखि सुचारु हुने भएको छ । २ भदौमा कोसी नदीमा आएको बाढीले सुनसरीको पश्चिम कुशाहा गाविसमा अवस्थित प्राधिकरणको विद्युत् टावर क्षतिग्रस्त बनेपछि भारतबाट विद्युत् आपूर्ति बन्द भएको थियो । कोसी नदी पुरानै धारमा फर्किन थालेपछि क्षतिग्रस्त टावर निर्माण सुरु भइसकेकाले फागुन पहिलो सातासम्म विद्युत् आपूर्ति सुचारु हुने विद्युत् प्राधिकरण दुहबी गि्रड शाखाले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय निर्देशनालय विराटनगरका सहायक निर्देशक टंकप्रसाद श्रेष्ठले भारतको विद्युत् आपूर्ति जोड्ने कुशाहामा अवस्थित पाँचवटा सर्किट बाढीले बगाएपछि विद्युत् अवरुद्ध भइरहेको बताए । भारतबाट विद्युत् आपूर्ति बन्द हुँदा पूर्वेलीले लोडसेडिङ मार खेप्नु परिरहेको छ । प्राधिकरणले भारतको कटैयाबाट ६५ मेघावाट विद्युत् खरिद गरिरहेकामा टावर निर्माणपछि ४५ मेघावट विद्युत् आपूर्ति हुने दुहवी गि्रडका इन्जिनियर वीरेन्द्रकुमार झाले जानकारी दिए । उनका अनुसार, भारतको कटैयास्थित विद्युत् पावर हाउसका दुई सर्किटमध्ये एउटा बन्द भएकाले नेपाललाई उपलब्ध गराउँदै आएको ६५ मेघावाट विद्युत् वितरण गर्न नसकेको हो । पूर्वका लागि १ सय पाँच मेघावाट विद्युत् माग रहेकामा भारतबाट आउने ४५ मेघावाट केन्द्रीय प्रसारण लाइनबाट आइरहेको ५० मेघावाट विद्युत् आपूर्तिले पूर्वको हालको माग केही हदसम्म पूरा गर्ने अधिकारीहरू बताउँछन् । हाल टावर ढलेका स्थानमा प्राधिकरणले अस्थायी टावर निर्माण तीव्र रुपमा गरिरहेकाले फागुन पहिलो सातामा विद्युत् आपूर्ति हुने तथा स्थायी टावर चैत अन्तिम सातामा पूरा गरिसकिने सहायक निर्देशक श्रेष्ठले जानकारी दिए । लोडसेडिङ प्रभावित विभिन्न क्षेत्रलाई तत्कालै राहत पुर्‍याउने उद्देश्यअनुरुप अस्थायी टावर निर्माण गरिएको प्राधिकरणले जनाएको छ । यसका लागि ढलेका टावर १२ मिटर फरकमा अस्थायी टावर निर्माण भइरहेका छन् । भारतको कटैयाबाट आपूर्ति हुने विद्युत् राजविराज हुँदै कुशाहाको स्विचिङमा पुर्‍याई दुहबी गि्रडमा आपूर्ति गर्ने गरिएको छ ।

No comments: