News

Feb 6, 2009

संयुक्त लिम्बुवान मोर्चा, नेपालको अपील

आदरणीय लिम्बुवानवासी दिदीबहिनी तथा दाजुभाइहरू !

नेपाली जनताको त्याग तपस्या र बलिदानले आज मुलुकमा आमुल परिवर्तन भएको छ । विभिन्न समयमा भएका जनआन्दोलन र दशौं वर्षो जनयुद्धको उत्कर्षस्वरुप ०६२/०६३ को बलिदानीपूर्ण संघर्षपछि सामन्तवादको नाइके राजसंस्थाको अन्त्य भई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको चरणमा प्रवेश गरेको छ । शदियौंदेखिको शोषण र उत्पीडनको बन्धन चुँडालेर आज सम्पूर्ण जाति, भाषा, धर्म, संस्कृति र क्षेत्रहरु आफ्नो अधिकार प्राप्तिको लागि जुटेका छन् । यसै सन्दर्भमा आफ्नो ऐतिहासिकताको आधारमा सम्पूर्ण लिम्बूवानवासी जनताहरु लिम्बुवान स्वायत्त राज्य निर्माणका लागि आन्दोलित बनेका छन् । लिम्बुवानवासी जनताको यही चाहनालाई मूर्त रुप दिन विगत धेरै समयदेखि उठिरहेको लिम्बुवान प्राप्तिको आन्दोलनहरुको सम्बोधन गर्न र लोकतान्त्रिक मान्यतामा आधारित लिम्बुवान स्वायत्त राज्य निर्माणका लागि एकीकृत र संगठित शक्तिको आवश्यकता महशुस गरी लिम्बुवान स्वायत्त राज्य निर्माणका लागि संयुक्त लिम्बुवान मोर्चा नेपालद्वारा आयोजना हुन गइरहेको विशाल जनप्रदर्शन र जनसभाहरु निम्न मिति, समय र स्थानहरुमा हुने भएकोले नयाँ नेपालको संविधान लेखिँदा विगतमा शान्तिपूर्ण वा सशस्त्र रुपमा उठेका राजनीतिक मुद्दाहरुको दीर्घकालीन समाधानका लागि लिम्बुवान मुक्ति मोर्चा, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा -एकीकृत नेकपा माओवादी), संघीय लिम्बुवान राज्य परिषद (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ (नेकपा एमाले), नेपाल लिम्बुवान स्वशासित संघ एकीकृत (नेकपा एकीकृत), लिम्बुवान प्रान्तीय परिषद (राजमुपा), नेपाली कांग्रेस सम्वद्ध लिम्बूहरु र किरात याक्थुङ चुम्लुङबीच संयुक्त लिम्बुवान मोर्चा, नेपाल गठन भई विगतदेखि नै केन्द्रीय सरकारका प्रधानमन्त्रि राष्ट्रपति, सभाध्यक्ष र राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाउनेलगायत विभिन्न दवावमूलक कार्यक्रम गर्दै आइरहेको जानकारी गराउँदछौ । यसैक्रममा स्वायत्त लिम्बुवान राज्यबारे २०६५ पौष १९-२० मा धरानमा बसेको मोर्चाको विस्तारित बैठकले लिम्बुवान स्वायत्त राज्य प्राप्तिको लागि लिम्बुवानवासी सम्पूर्ण जाति जनजातिहरुको अधिकारलाई सुनिश्चित गर्दै सरकारलाई दवाव दिन र स्थानीय स्तरमा जागरण ल्याउन शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको जानकारी गराउँछौं । लिम्बुवानवासी आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूमा हाम्रो निम्न बमोजिम हुन गइरहेको शान्तिपूर्ण विशाल जनप्रदर्शन र जनसभामा उपस्थित भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान राज्यको स्थापनामा सहयोग गर्न आहृवान गर्दछौं । उक्त जनसभालाई मोर्चाको केन्द्रीय नेताहरुले सम्बोधन गर्ने जानकारी गराउँदछौं ।
विशाल जनसभा हुने मितिःर स्थानहरुः
माघ २२ गते - ताप्लिजोङ जिल्ला फुङ्लीङ बजार
माघ २४ गते - पान्थर जिल्ला फेदेम बजार
माघ २५ गते - इलाम जिल्ला इलाम बजार
माघ २६ गते - झापा जिल्ला दमक बजार
माघ २७ गते - मोरङ जिल्ला पथरी बजार
माघ २८ गते - सुनसरी जिल्ला धरान बजार
माघ २९ गते - धनकुटा जिल्ला धनकुटा बजार
फागुन १ गते - तेह्रथुम जिल्ला मेयाङलुङ बजार
फागुन ३ गते - संखुवासभा जिल्ला सिद्धपोखरी बजार
उपरोक्त विशाल जनसभापछि संयुक्त लिम्बुवान मोर्चाको तर्फबाट स्वायत्त लिम्बुवान राज्यको समर्थनमा १० लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने साथै चैत्र पहिलो साता विशाल जनसमूहको उपस्थितिमा एकात्मक केन्द्रीकृत राज्यसत्ता घेराऊ गर्ने कार्यक्रम रहेको छ ।
संयुक्त लिम्बुवान मोर्चा, नेपाल

No comments: