News

Feb 8, 2009

शाही परिवारको विदेशी धन खोज्ने कार्यदल अझै बनेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले उच्चस्तरीय कार्यदल गठन गर्न नसक्दा पूर्वराजपरिवारका सदस्यहरूको नाममा विदेशका विभिन्न स्थानमा रहेको चल-अचल सम्पत्ति अझै गोप्य रहँदै आएको छ ।वर्तमान सरकारले बजेट भाषणमार्फत पूर्वराजपरिवारका सदस्यका नाममा विदेशमा रहेको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएको थियो, तर सरकारले पाँच महिना बितिसक्दासमेत प्रतिबद्धताअनुसार कार्यदल गठन गर्न सकेको छैन । छानबिन प्रक्रिया अगाडि बढ्न नसक्दा विदेशमा उनीहरूको नाममा चल तथा अचल सम्पत्ति भए-नभएको भन्नेमा पनि अन्योल उत्पन्न हुन पुगेको छ । विदेशका विभिन्न बैंकमा पूर्वराजपरिवारको सदस्यको नाममा अर्बौं रुपैयाँ रहेको हुन सक्ने नेपाल ट्रस्टका अधिकारीहरू बताउँछन् । त्यहाँ रहेका चल तथा अचल सम्पत्ति मात्रै नेपाल सरकारको नाममा ल्याउन सकिएमा पनि राजस्वमा ठूलो वृद्धि हुन सक्छ । नेपाल ट्रस्टका प्रवक्ता जनार्दन गुरागाईं विदेशमा रहेको सम्पत्तिबारे छानबिन गर्न उच्चस्तरीय कार्यदल गठनको प्रस्ताव आफूहरूले गरे पनि सरकारले कार्यदल गठन नगरेकाले छानबिन प्रक्रिया अगाडि बढ्न नसकेको बताउँछन् । ट्रस्टले एक वर्षअघि नै तयार गरेको प्रस्तावमा विदेशमा रहेको पूर्वराजपरिवारका सदस्यको नाममा रहेको सम्पत्ति छानबिन गर्न राजनीतिक रूपमै उच्चस्तरीय छानबिन टोली गठन गर्नुपर्ने र सो टोलीमा बैंकिङ क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूलाई पनि समावेश गर्नुपर्ने उल्लेख छ ।ट्रस्टले कार्यदलका लागि एक करोडको प्रारम्भिक बजेटसमेत माग गरेको थियो । तर, सरकारले सो प्रस्तावअनुसार कार्यदल गठन गर्न सकेको छैन भने बजेट पनि विनियोजन हुन सकेको छैन । नेपालको अन्तरिम संविधानको धारा १५९ को १ मा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूका परिवारको सम्पत्ति नेपाल सरकार मातहत ल्याई ट्रस्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिने उल्लेख छ । नेपाल ट्रस्टले हाल विदेशमा रहेका सम्पत्तिबारे छानबिन प्रक्रिया अगाडि बढाउन नसके पनि स्वदेशमा रहेका विभिन्न स्थानका सम्पत्ति ट्रस्टको नाममा आइसकेको जनाएको छ । ट्रस्टका प्रवक्ता गुरागाईंका अनुसार धनकुटा, मकवानपुर, काठमाडौं, भक्तपुर र नुवाकोटमा रहेकामध्ये तीन हजार ६ सय रोपनी जग्गा आवश्यक छानबिनपछि ट्रस्टको नाममा आइसकेका छन् भने नबिल बैंक र औद्योगिक विकास निगममा रहेका ६० हजार कित्ता सेयर पनि ट्रस्टको नाममा आइसकेको छ । त्यस्तै, काठमाडौं, काभ्रे, सुर्खेत नुवाकोटमा रहेका थप जग्गा र सम्पत्तिबारे छानबिन गर्ने क्रम जारी रहेको गुरागाईंले जानकारी दिए ।गुरागाईंका अनुसार पूर्वराजदरबारले लिजमा दिएको गोकर्ण रिसोर्ट, काठमाडौं प्लाजा, लाजिम्पाटस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंक बसेको भवन र टेकुको बुद्धबारीस्थित व्यापारिक कम्प्लेक्सको भाडा पनि नेपाल ट्रस्टमा नै आउने गरेको छ । गत वर्षको भाडाबापत दुई करोड ४८ लाख प्राप्त भएको गुरागाईंले जानकारी दिए ।

No comments: